भेनेजुयलामा तीन अमेरिकीसहित सात विदेशी नागरिक पक्राउ

भेनेजुयलामा तीन अमेरिकीसहित सात विदेशी नागरिक पक्राउ
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो

एजेन्सी : भेनेजुएला प्रहरीले तीन अमेरिकीसहित तीन स्पेन र एक चेक गणतन्त्रका नागरिकलाई पक्राउ गरेको छ।

उनीहरू सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले उनीहरूको साथबाट सयौं हतियार पनि बरामद गरिएको बताएका छन्।

पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको उनको दाबी छ।

अमेरिकाले राष्ट्रपति मादुरो निकट भेनेजुएलाका १६ अधिकारीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि सात विदेशी नागरिकलाई पक्राउ गरेको हो।

भेनेजुएला सरकारले पक्राउ परेका स्पेनी नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ।

भेनेजुएलाका राष्ट्रपति पदका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेर स्पेनमा राजनीतिक शरण लिएपछि स्पेनी नागरिक पनि त्यहाँको सरकारको नजरमा परेको हुनसक्ने आँकलन पनि गरिएको छ।

भदौ ३०, २०८१ आइतबार ११:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।