जापानीज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु, असोज १५ सम्म संक्रमणको उच्च जोखिम

जापानीज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु, असोज १५ सम्म संक्रमणको उच्च जोखिम

काठमाडौं : जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ। ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। 

उनले भदौ १५ देखि असोज १५ सम्म जापानीज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजगता अपनाउन आग्रह गरे। 

सामान्यतया साउनदेखि कात्तिकसम्म जापानीज इन्सेफ्लाइटिस देखिन्छ तर जापानीज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ सम्म जोखिम नै रहेको डा गौतमको भनाइ रहेको छ। 

महिनामा धान खेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्ने र ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा सङ्क्रमण सार्छन् र ती सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सार्ने गर्दछ। 

‘क्युलेक्स’ लामखुट्टेले फोहर पानीमा फुल पार्ने गर्दछ। जापानीज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखा पर्ने हुन्छ।  

सरकारले सन् २०१६ देखि नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानीज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिँदै आएको छ। 

सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिए पनि पछि जन्मेका सबै बालबालिकालाई उक्त सङ्क्रमणबाट जोगाउन खोप दिँदै आएको छ। 

भदौ २८, २०८१ शनिबार २१:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।