पाल्पाली ढाका र करुवालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाका र करुवालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन्। 

पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवर्द्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरू भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको बताए। 

उनले भने, ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तरपनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरू योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छाैँ।’

अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने बताए। 

पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाई छ। 
 
उनले भने, ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो। योसँग नेपालको एक शताब्दी भन्दा लामो इतिहास छ। यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ। यी सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियाकलापहरूमा बढावा दिन सक्नुपर्छ।’ 

भदौ २८, २०८१ शनिबार २०:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।