महिला डाक्टर बलात्कार-हत्यापछि चिकित्सकको आन्दोलनले २९ जना बिरामीको ज्यान गएको मुख्यमन्त्रीको दाबी

महिला डाक्टर बलात्कार-हत्यापछि चिकित्सकको आन्दोलनले २९ जना बिरामीको ज्यान गएको मुख्यमन्त्रीको दाबी

एजेन्सी : भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले १५ जना जुनियर चिकित्सकको प्रतिनिधिमण्डलसँग आफ्नै निवासमा भेटवार्ता गर्ने भएकी छन्। 

बैठक आज साँझ ६ बजेका लागि बोलाइएको छ।

यसअघि, मुख्यमन्त्री ममता बनर्जीले शनिबार नै साल्ट लेक प्रदर्शनस्थलमा प्रदर्शन गरिरहेका जुनियर चिकित्सकलाई भेटी काममा फर्कन र समस्याको समाधानका लागि आफूलाई समय दिन आग्रह गरेकी थिइन्। 
 
उनले चिकित्सकलाई चाँडै काममा फर्कन आग्रह गर्दै पछिल्लो समय प्रदर्शनमा संलग्न चिकित्सकलाई राज्य सरकारले कुनै कारबाही नगर्ने आश्वासनसमेत दिइन्। 

मुख्यमन्त्रीसँगको भेटमा जुनियर चिकित्सकले छलफल नभएसम्म आफूहरू मागबाट पछि हट्न तयार नरहेको बताए।

शुक्रबार बनर्जीले जुनियर चिकित्सकले आन्दोलनपछि स्वास्थ्य प्रणालीमा व्यापक असर देखिएको र यो क्रममा २९ जनाको बिरामीको जीवन गुमेको दाबी गरिन्। 

जुनियर चिकित्सकसँग वार्ताको प्रयास असफल भएपछि मुख्यमन्त्री बनर्जीले शनिबार आफैँ प्रदर्शनस्थलमा पुगी जुनियर चिकित्सकलाई भेटेकी हुन्। 

चिकित्सकले साल्ट लेकस्थित स्वास्थ्य विभागको मुख्यालय अगाडि प्रदर्शन गरिरहेका छन्। बनर्जीले आन्दोलनरत चिकित्सकलाई आफू मुख्यमन्त्रीको रूपमा नभई दिदीको रूपमा भेट्न आएको बताएकी थिइन्।  

भदौ २९, २०८१ शनिबार १८:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।