बालेनप्रति रुष्ट देखिए प्रधानमन्त्री, कार्यकर्तालाई भने 'त्यसलाई स्थापित हुन दिनु हुँदैन, सबै अस्त्र प्रयोग गर्नू'

बालेनप्रति रुष्ट देखिए प्रधानमन्त्री, कार्यकर्तालाई भने 'त्यसलाई स्थापित हुन दिनु हुँदैन, सबै अस्त्र प्रयोग गर्नू'
फाइल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई 'मनपरी बोल्ने केटो' निस्किएको भन्दै उनलाई स्थापित हुन दिनु नहुने टिप्पणी गरेका छन्।

स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बालेनको नामै नलिई मनपरि बोल्ने केटो भन्दै कटाक्ष गरे। 

उनले भने, ‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे, त्योसँग जनमत छ रे! नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ, यतातिरबाट गोली हानेर मृग मार्यो भने बिरालोले मृग मार्यो भन्दै चलाइदिन्छ। त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ।’

पछिल्लोपटक बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालश्रम शोषण गरेको आरोप लगाउँदै उनलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री ओलीसामु माग राख्दै फेसबुकमा स्टाटस राखेका थिए। एमाले कार्यकर्ताले त्यसलाई रिपोर्ट गरिदिएपछि फेसबुकले उक्त स्टाटस हटाएको थियो। 

त्यसपछि बालेन समर्थक र ओली समर्थकहरूको फेसबुकमा जुहारी नै चल्यो। पछि बालेनले एमाले अध्यक्षका रूपमा ओलीलाई आफ्ना कार्यकर्तालाई संसार सिकाउन भनेका थिए। 

त्यसयता अझै पनि एमाले कार्यकर्ता र बालेनबीच असहमतिको गहिरो मतभेद देखिन्छ। त्यसैको कारण ओलीले बालेनमाथि खरो रूपमा उत्रिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

ओलीले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे। 

‘सबैभन्दा धेरै हाम्रै कार्यकर्ता छन्, सबैको हात हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ। यो भएन त्यो भएन भन्ने, आफ्नै साथीभाइसँग लड्ने तर विरोधीसँग आँखा उठाएर हेर्न नसक्ने, बोल्न नसक्ने हुतीहारा छ। आफूसँग भएका सबै अस्त्रहरू प्रयोग गर्नुपर्यो,’ उनले भने। 

भदौ २८, २०८१ शनिबार १८:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।