डा. किर्तिपालको उपचार अनुभव : २८ वर्षे गर्भवतीको गर्भमा एक पछि अर्को गर्दै पाँच वटा बच्चा भेटिएपछि...

डा. किर्तिपालको उपचार अनुभव : २८ वर्षे गर्भवतीको गर्भमा एक पछि अर्को गर्दै पाँच वटा बच्चा भेटिएपछि...

डा. किर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनले चिकित्सकीय पेसाको शिलशिलामा महिलाका स्वास्थ्यजन्य समस्या नजिकबाट नियालेका छन्। उनै डा. कृतिपालले चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका यस्तै अनुभव उकेरासँग साटेका छन् :

000
 
ती २८ वर्षे गर्भवतीको गर्भबाट एक पछि अर्को गर्दै पाँच वटा बच्चा भेटिएपछि...
परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा एक महिलाले पाँच वटा बच्चा जन्माएको प्रसंग डा. किर्तिपाल कहिल्यै भुल्दैनन्। प्रसंग २०७७ असोजको हो। जतिबेला कोरोना भाइरस संक्रमणको महामारीले मान्छेलाई अत्याइरहेको अवस्था थियो। 

नुवाकोटकी करिब २८ वर्षीय महिलालाई सुत्केरी गराउनका लागि प्रसूति गृहमा पुर्याइयो। ती महिलाको गर्भधारण नभएपछि चिकित्सकको सल्लाह अनुसार औषधि उपचार गरेर गर्भधारण भएछ। त्यो बेला कोरोनाको संक्रमणको महामारीका कारण लकडाउन भएपछि ती महिला विशेषज्ञ चिकित्सककहाँ गर्भको जाँच गर्न अस्पताल जान सम्भव भएनछ। अनि स्थानीय स्वास्थ्य संस्थामै उनले गर्भ जाँच गराइन्। त्यहाँ भिडियो एक्स–रे गर्दा गर्भमा तीन वटा बच्चा छन् भनिएको रहेछ। 

सुत्केरी हुने समयमा प्रसूति गृह पुर्याइएकी उनको भिडियो एक्स–रे गरेर गर्भको बच्चाको अवस्था हेरियो। भिडियो एक्स–रे गरेर हेर्दा ती महिलाको गर्भमा चार वटा बच्चा छन् भनियो। गर्भमा देखिएका चारमध्ये तीन वटा जीवित अनि एउटा मृत बच्चा छ भनिएको थियो। करिब ३६ हप्ताको गर्भ भएकी ती महिलाको शल्यक्रिया गरेर नै गर्भमा रहेका बच्चा निकाल्नुपर्ने अवस्था थियो। 

त्यसैले डा. किर्तिपालको टिमले सबै तयारी गरी ती महिलाको गर्भमा रहेका बच्चा निकाल्न शल्यक्रिया कक्षमा लग्यो। एनेस्थेसियोलोजिष्ट चिकित्सकले शल्यक्रियाका लागि सुइमार्फत लठ्याउने औषधि दिएर ती महिलाको ढाडभन्दा तलको भाग लठ्याए। अनि डा. किर्तिपालले ती महिलाको गर्भमा रहेका बच्चा निकाल्नका लागि शल्यक्रिया (सिजरियन सेक्शन) थाले। 

डा. किर्तिपालले शल्यक्रिया गरी एकपछि अर्को गर्दै चार वटा जीवित बच्चा निकाले अनि एउटा मृत बच्चा पनि निकाले। चार वटा जीवित बच्चा निकालेपछि फेरि उनले ती पाठेघरमा केही छ की भनेर हात हाले। हात हाल्दा ती महिलाको गर्भमा पाँचौं मृत बच्चा पनि भेटियो। 

एकपछि अर्को गर्दै ती गर्भवती महिलाको गर्भमा रहेका चार वटा जीवित अनि एउटा मृत बच्चा निकाल्दा डा. किर्तिपाललाई अचम्म नै लागेको थियो। ती महिलाको गर्भको बच्चा निकाल्ने काम सकिएपछि उनले शल्यक्रिया बन्द गरे। करिब एक घण्टामा शल्यक्रिया सफल भयो। 

शल्यक्रिया गरी चारवटा जीवित र एउटा मृत गरी पाँच वटा बच्चा निकालेपछि बच्चाको तौल जोखियो। शल्यक्रिया गरेर निकालिएर बाँचेका चार बच्चा (नवजात शिशु)मध्ये एउटाको तौल १.८ किलोग्राम, दोस्रोको तौल १.९ किलोग्राम र तेस्रोको तौल १.६ किलोग्राम थियो भने चौथोको तौल ८ सय ग्राम थियो। बाँचेका यि चारै जना महिला बच्चा थिए। त्यसैगरी बाँकी मृत एउटा पुरुष बच्चाको तौल तीन सय ग्राम थियो। 

शल्यक्रियापछि ती जीवित चारैवटा बच्चालाई केही समय आइसियुमा राखियो। आइसियुमा राखिएकामध्ये ८ सय ग्रामको एउटा महिला बच्चाको भने जन्मिएको भोलिपल्ट मृत्यु भयो। बाँकी तीन जना महिला बच्चालाको भने स्वास्थ्य अवस्था सामान्य भएकाले आमासँगै वार्डमा सारियो।

शल्यक्रिया अनि ती बच्चाको स्याहार सुसार तथा उपचारको टिममा डा. किर्तिपालसहित डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिम्दान, डा. श्रद्धा श्रेष्ठ, डा. मुकेश कुमार र नर्स रबिना प्रजापति लगायतको टिम थियो। 

डा. किर्तिपालले थाहा पाएसम्म गर्भमा पाँच वटा बच्चा हुनु नेपालको लागि त्यो पहिलो घटना थियो। तर, शल्यक्रिया गरी बच्चा निकाल्ने प्रक्रियालाई भने उनले सामान्य चिकित्सकीय कामका रुपमा लिए। प्रसूति गृहमा ती गर्भवतीबाट पाँच वटा बच्चा निकालिएकोबारे सार्वजनिक भएपछि भने डा. किर्तिपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट व्यापक फोन आउन थाल्यो। अनिमात्रै उनलाई आफू र आफ्नो टिमले महत्वपूर्ण काम गरिएछ भन्ने महसुस भयो। 

सात दिन अस्पताल बसाईपछि तीनवटा नवजात छोरी शिसुकासाथ ती महिला डिस्चार्ज भएर घर फर्किइन्। डिस्चार्ज गर्दा तीनै जना नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो थियो। पछि ती महिला फलोअपका लागि नुवाकोटकै अस्पतालमा नै पुगिछन्। एक वर्षसम्म बुझ्दा ती तीनैजना बच्चा स्वास्थ रहेको जानकारी पाएको उनले सुनाए। 

धन्न, ती गर्भवतीको अप्रेशन टेबलमा नै ज्यान गएन!
प्रसंग करिब पाँच वर्षअघिको हो। बच्चा जन्माउन नसकेपछि करिब २६ वर्षकी  महिलालाई प्रसूति गृहमा पुर्याइयो। डा. किर्तिपालको टिमले ती महिलाले बच्चा जन्माउन नसक्नुको कारण पत्ता लगायो। सामान्यतया बच्चा जन्मनेबेलामा साल पाठेघरभन्दा माथि रहेको हुन्छ। बच्चा जन्मिएपछि साल झर्छ। तर, ती महिलाको भने पाठेघरभन्दा मुनिबाट साल बसेकाले बच्चा जन्मन सकेको रहेनछ। पाठेघर भन्दामुनि साल बसेर बच्चा जन्मन नसक्ने समस्यालाई ‘प्लासेन्टा प्रिभिया’ भनिन्छ। ‘प्लासेन्टा प्रिभिया’को समस्या भएको अवस्थामा ‘सिजरियन सेक्शन (शल्यक्रिया)’ गरी बच्चा निकाल्नुपर्ने हुन्छ। 

प्रसव पीडाले छटपटाइरहेकी ती महिलाले बच्चा जन्माउन नसक्नुको कारण पत्ता लगाएपछि डा. किर्तिपालको टिमले कति पनि ढिला नगरी ती महिलालाई शल्यक्रिया कक्षमा राखेर शल्यक्रिया गरी बच्चा निकाल्ने प्रक्रिया सुरू गर्यो। तर, बच्चा भन्दा तल साल रहेकाले शल्यक्रियाका क्रममा ती महिलाको रक्तश्रावको जोखिम थियो। त्यसमा चिकित्सकको टिम चनाखो थियो नै। 

एनेस्थेसियोलोजिष्ट चिकित्सकले शल्यक्रियाका लागि ती महिलालाई सुइको माध्यमबाट बेहोस बनाउने औषधि दिएर लठ्याए। डा. कृतिपालको टिमले ती महिलाको बच्चा निकाल्ने शल्यक्रिया थाल्यो। 

तर, त्यसपछि यती धेरै रक्तश्राव हुन थाल्यो की रक्तश्राव रोक्न नै सम्भव भएन। रक्तश्राव धेरै भएका कारण शल्यक्रिया गरिरहेकै अवस्थामा ती महिलाको मुटुको धड्कन नै बन्द हुने अवस्थामा पुग्यो। मुटुको धड्कन नै बन्द हुने अवस्थामा पुगेपछि ती महिलाको छातीमा सिपिआर गरी चिकित्सकको टिमले मुटुको धड्कन फर्काउने प्रयास गर्यो। चिकित्सकको टिमले महिलाको शरीरमा रगत चढाइरहेको थियो भने स्लाईनको माध्यमबाट आवश्यक औषधि दिइरहेको थियो। 

डा. किर्तिपाल शल्यक्रिया गरिरहेका थिए। त्यहीबेला एनेस्थेसियोलोजिष्ट चिकित्सकले डा. किर्तिपाललाई ‘डाक्टरसाप अब त बचाउन सकिँदैन होला। के गर्ने होला।’ भन्दै अत्तालिए। तर, डा. कृतिपालले शल्यक्रिया रोकेनन्। अन्य चिकित्सकको टिमले पनि गर्नुपर्ने काम गरिरहेको थियो। उनले ती महिलाको साल र बच्चा निकाले। त्यसपछि डा. किर्तिपालसँग ती महिलाको पाठेघर नै निकालेर रक्तश्राव रोक्ने बाहेक अन्य विकल्प बाँकी थिएन। त्यसैले उनले पाठेघर नै निकालेर रक्तश्राव रोकेर ती महिलालाई बचाउने अन्तिम विकल्प अपनाए। 

डा. किर्तिपालले कति पनि ढिला नगरी ती महिलाको पाठेघर निकालिदिए। त्यसपछि रक्तश्राव रोकियो। बल्ल, ती महिलाको मुटुको धड्कन बिस्तारै फर्कन थाल्यो। पाठेघर निकालेको करिब १५ मिनेटमा त ती महिलाको मुटुको धड्कन सामान्य अवस्थामा फर्किहाल्यो। शल्यक्रिया पनि सकियो अनि शल्यक्रियाका लागि बेहोस बनाइएकी ती महिलालाई होसमा ल्याइयो। 

अप्रेशन टेबलमा नै ज्यान जाने अवस्थामा पुगिसकेकी ती महिलाको ज्यान बचाएपछि शल्यक्रियामा खटिएको चिकित्सकको टिमले लामो श्वास फेरे। सबै चिकित्सकको टिमको अनुहार उज्यालो भयो। 

ती महिलालाई होसमा ल्याएपछि शल्यक्रिया कक्षबाट वार्डमा पुर्याइयो। ती महिलाको पहिलो सन्तान पनि शल्यक्रिया गरेर नै निकालिएको रहेछ। शल्यक्रिया गरेको पाँच दिनमा त ती महिला अस्पतालबाट डिस्चार्ज भएर आफ्नो बच्चा च्यापेर मुस्कुराउँदै घर फर्किइन्। त्यो खुसीको क्षण डा. कृतिपाल कहिल्यै भुल्दैनन्। 

दाङको अस्पताल प्राङ्गणमा हुर्किएको त्यो सम्झना
किर्तिपालको स्थायी घर प्युठान हो। बुवाआमा सरकारी जागरे भएकाले कृतिपाल प्युठानमा बसेनन्। उनी सुर्खेतको वीरेन्द्रनगरमा जन्मिए। उनका बुवा प्रशासनतर्फका जागिरे थिए। बुवाका दुई जना श्रीमती हुन्। दुई श्रीमतीमध्ये एक जना प्रशासनकी जागिरे र अर्की श्रीमती नर्स हुन्। 

किर्तिपालले एक कक्षासम्म सुर्खेतमा नै पढे। त्यसपछि उनका बुवाआमा सरुवा भएर २०४६ मा दाङ पुगे। उनीहरु त्यो बेला दाङको तत्कालीन महेन्द्र अस्पताल नजिकै बस्थे। किनभने उनी एक जना आमा अस्पतालकै त्यो अस्पतालकै जागिरे थिइन्। पछि त्यो अस्पतालको नाम राप्ती उपक्षेत्रीय अस्पताल भयो। हाल त्यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको छ। 

उनीहरुको बसाई पनि अस्पतालको छेउमा नै भएकाले २०४६ मा जनआन्दोलन चर्किएका बेला आन्दोलनमा परेर घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल पुर्याएको आफूले नजिकबाट देखेको डा. किर्तिपाललाई अझै अलिअलि सम्झना छ। आमा नर्स भएकाले उनी पनि अस्पतालमा गइनै रहन्थे। त्यसैले सानैदेखि किर्तिपालका लागि अस्पताल नौलो भएन। 

डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी लगायत अस्पतालका धेरै कर्मचारीले उनलाई चिन्थे। अनि अस्पतालका विभिन्न वार्डलगायतमा उनी घुम्थे। त्यसैले बिरामीका दुःख, पिडा तथा रोदन उनले सानैदेखि नजिकबाट नियालेका थिए। अस्पतालकै प्राङ्गणमा खेल्दै उनी हुर्किए। 

कृतिपालले दाङको दीपशिखा स्कुलबाट २०५६ मा एसएलसी गरे। एसएलसीपछि उनी थप अध्ययनका लागि काठमाडौं आए। काठमाडौंको निष्ट कलेजबाट उनले प्लसटु गरे। 

काठमाडौंमा एमबीबीएस र सरकारी जागिरमा प्रवेश
किर्तिपालले काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा सन् २००२ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। सन् २००७ उनले एमबीबीएस पूरा गरे। त्यसपछि डा. किर्तिपालले मेडिकल अधिकृतको स्थायी जागिरका लागि लोकसेवा परीक्षा दिए।  

तर, करिब एक वर्षसम्म पनि लोकसेवा परीक्षाको नतिजा आएन। त्यसैले उनले एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। उनले मेडिसिन विषयमा स्नातकोत्तर तहको एमडी अध्ययनका लागि छनोट परीक्षामा लिखितमा छनोट भइसकेका थिए। एमडी अध्ययनका लागि मौखिक परीक्षा दिन मात्रै बाँकी थियो। तर, लोकसेवा परीक्षा दिएको एक वर्षपछि लिखित परीक्षाको नतिजा आयो। 

लिखित र मौखिक दुवै परीक्षामा छनोट भएर डा. कृतिपाल २०६६ मा आठौं तहको मेडिकल अधिकृतका रुपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे। त्यसपछि डा. किर्तिपाल दाङको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालमा पुगे, जुन अस्पतालको प्राङ्गगणमा नै उनी खेल्दै हुर्किएका थिए। उनले त्यहाँ करिब डेढ वर्ष काम गरे। 

त्यही बीचमा उनको विवाह भयो। उनकी श्रीमती पनि चितवन मेडिकल कलेजमा एमडी पढ्न थालिन्। त्यसैले डा. किर्तिपाल दाङबाट सरुवा भएर चितवनको खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। उनकी श्रीमती डा. पुनम बाल मुटुरोग विशेषज्ञ हुन्। उनीहरुको दुई छोरा छन्।

एमडी अध्ययनको छनोटमा स्त्रीरोग
डा. कृतिपालले खैरहनीपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गर्न थाले। २०७३ मा उनले तीन वर्षे एमडी अध्ययन सके। अनि उनी आफ्नो दरबन्दी भएको ठाउँ खैरहनीमा नै काम गर्न पुगे। तर, एमडी अध्ययन गरेको करिब दुई महिनापछि भने उनी सरुवा भएर भरतपुर अस्पताल पुगे। 

करिब नौ महिना भरतपुरमा बसेपछि उनका बुवा बिरामी भएकाले काठमाडौंमा नै बसेर उपचार गर्नुपर्ने भयो। त्यसैले डा. कृतिपाल भरतपुरबाट २०७३ मा सरुवा भएर काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा आए। 

प्रसूति गृहमा काम गर्दा नै उनी नऔं तह र कन्सल्टेण्टका रुपमा बढुवा भए। हाल उनी बढुवा हुँदै दशौं तहमा पुगेका छन्। उनले २०७५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सहायक (एसिस्टेण्ट) प्राध्यापकको रुपमा समेत चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने काम गरे। उनीसँग सरकारी चिकित्सकहरूको छाता संगठन सरकारी चिकित्सक संघ (गोदन)को महासचिवको भूमिकामा पनि काम गरेको अनुभव छ।

उनले प्रसूति गृहमा नै स्त्री क्यान्सरसँग सम्बन्धित एक वर्षे फेलोसिप गरेर महिलामा हुने क्यान्सरको विषयमा थप ज्ञान तथा सीप सिके। यो विषय अध्ययनका लागि अस्पतालका तत्कालीन निर्देशक प्रा.डा. जागेश्वर गौतम र अस्पतालका प्रा.डा. गेहनाथ बराल अनि प्रा.डा. मिना झाको ठूलो सहयोग मिलेको डा. कृतिपाल सम्झन्छन्। त्यसैगरी उनले अस्पतालमा कोभिड कोर्डिनेटरको जिम्मेवारीमा समेत काम गरे। त्यो बेला उनी रातबिरात अस्पतालमा काम गरेको सम्झन्छन्।
 
दुई वर्षअघि डा. कृतिपाल सरुवा भएर भेरी अस्पताल पुगे। हालसम्म उनी त्यहीं काम गरिरहेका छन्। उनलाई अझै केही वर्ष उपत्यका बाहिर नै काम गर्ने इच्छा छ। भेरी अस्पतालमा पुगेपछि आफूले ल्याप्रोस्कोपिक सर्जरी सुरू गरेको उनले अनुभव सुनाए। स्त्रीरोगसँग सम्बन्धित समस्याको विशेष प्रविधिको प्रयोग गरी गर्ने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ। ल्याप्रोस्कोपिक सर्जरी गर्दा बिरामीले दुःख पाउने समस्या कम हुन्छ। 

त्यसैगरी डा. कृतिपाल महिलाको विभिन्न स्वास्थ्यजन्य समस्याको पहिचान गर्ने र औषधि, उपचार तथा शल्यक्रिया गरी बिरामी ठिक बनाउने काममा सक्रिय त हुन्छन् नै। उनी स्त्री क्यान्सरसँग सम्बन्धित समस्याको शल्यक्रियामा बढी केन्द्रित हुन्छन्। गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा प्रसूति गराउने र गर्भवतीमा देखिएका समस्या समाधान गर्न कोसिस गर्ने जस्ता काम गर्नु उनको दैनिकी हो।  

भदौ २८, २०८१ शनिबार २१:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।