'सहकारी ठगी'को आरोपपछि सतहमा धनराजका झूट : श्रीमतीसँग डिभोर्स भएकोदेखि रवि विरुद्धको नकाबसम्म

'सहकारी ठगी'को आरोपपछि सतहमा धनराजका झूट : श्रीमतीसँग डिभोर्स भएकोदेखि रवि विरुद्धको नकाबसम्म

काठमाडौं : सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले दिएको बयानपछि कांग्रेस उपसभापति धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिए। 

अध्यक्ष गुरुङले भदौ ६ मा समितिमा उपस्थित भएर धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा गुरुङ पनि जानकार रहेको बताएका थिए।  

मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ र उनका पति धनराज गुरुङले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि संसदीय छानबिन समितिले संस्थाका अध्यक्ष कुम्भराजलाई बोलाएको थियो। त्यसक्रममा कुम्मराजले समितिमा धनराजलाई पनि सम्पूर्ण जानकारी भएको र कागजीरुपमा मात्रै ‘डिभोर्स’ भएको दाबी भनेका थिए। 

'धनराज पनि जानकार छन्। बूढाबूढी सँगै बसेर पनि पटक–पटक तिर्ने बाचा गरेका हुन् भनेर कुम्मराजले लिखित बयान नै दिनुभएको छ,' समितिका एक सदस्य भन्छन्। 

तर, धनराजले यसलाई खण्डन गरेका छन्। यसबारे सञ्चारमाध्यममा कुरा उठेपछि धनराजले एक विज्ञप्ति जारी गर्दै अनि त्यसपछि संसद्मै पनि डिभोर्स भइसकेकी श्रीमतीबारे आफूले जिम्मेवारी लिनु नपर्ने भनेका छन्। 

'सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन। सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन, भदौ २५ को संसद् बैठकमा भनेका थिए। 

त्यही संसद् बैठक र त्यसपछि बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि धनराजले आफू छानबिनका तयार भएको भन्दै आफूमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न चुनौती दिए।  

तथापि उनले भनेजस्तो ज्योतिसँग डिभोर्स भएपनि धनराज आफैंले एक महिना अघिसम्म ज्योति गुरूङको ऋण तिरिरहेको प्रमाणहरू सार्वजनिक भइरहेका छन्। ज्योतिको नाममा भएको ऋण धनराजले तिरेको रसिद छानबिन गर्न गठित विशेष समितिले प्राप्त गरेको छ। 

संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीबार गरेको अनुगमनकाक्रममा ज्योति र धनराजको डिभोर्स २०७६ सालमा भएपनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू प्राप्त गर्यो। डिभोर्स भएको लामो समयसम्म पनि धनराजले नै ऋण तिरिदिने गरेको बयान अध्यक्ष कुम्भराजले छानबिन समितिमा पनि दिएका थिए। 

अनुगमनकैक्रममा समितिलाई अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए। 

त्यसबाहेक अध्यक्ष कुम्भराजले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए। 

उत्रियो रविमाथि खनिँदाको नकाब  
२०८१ जेठ ३ को प्रतिनिधि सभा बैठकमा सहकारी ठगीको आरोप लागेका तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागलाई बेवास्ता बेवास्ता गर्दै पेलेर अघि बढ्न खोजेको भन्दै कांग्रेस सांसदहरू वेल घेरेर नाराबाजी गरिरहे। 

यत्तिकैमा कांग्रेसको अवरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई आफ्ना कुरा राख्न रोष्ट्रम बोलाए। 

सत्ताधारी एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा सभामुख घिमिरेले संसद अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरू पनि अझ उग्र भए र, ठेलमठेलको स्थिति बन्यो। 

सभामुखले गृहमन्त्रीलाई रोष्ट्रम बोलाएपछि ओलीले बाटो पन्छाउँदै गृहमन्त्रीलाई रोष्ट्रम जान सहजीकरण गरे। त्यतिमात्र होइन, अग्रस्थानमा रहेका ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ भन्दै कांग्रेस सांसदलाई आग्रह गर्न थाले। तर, ओलीको आग्रहलाई ती सांसदहरूले सहज रूपमा नटेरेपछि ओली झन्किए। 

त्यहीबीच कांग्रेसका उपसभापति धनराज गुरुङ आए। धनराज ओलीलाई यति आक्रामक रुपमा झम्टिरहेका थिए कि उनको हाउभाउ हेर्दा उनी ओलीलाई कुट्नै चाहन्थे। केही समय धनराज र ओलीबीच भनाभनसमेत भयो। ओलीलाई धनराजले एकोहोरो थर्काइरहे, ओलीले सकेको प्रतिरक्षा गरे।  

उनीहरूबीच कुटाकुट्कै स्थिति सिर्जना हुन आँटेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ओलीलाई बचाउन खोजे। 

यतिबेलासम्म पनि सभामुखले संसद चलाइरहेकै थिए। ओली उभिए ठाउँमा एमाले र कांग्रेसका सांसदबीचको धकेलाधकेल झन् उग्र हुँदैथियो। 

त्यही बेला कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थिति सामान्य गराउन खोजे। उनको प्रयासपछि माहोल शान्त हुँदैगयो। 

त्यसपछि कांग्रेस संसद रामहरि खतिवडा त्यो माहोलमा पसे। उनले धनराज लगायतलाई सम्हाल्दै अलि पर पुर्याए। 

नभन्दै महत र खतिवडा त्यहाँ पुगेपछि ओलीमाथि कुट्नै तम्सिएका धनराज पनि शान्त भए। र, स्थिति सामान्य भयो। थप दुर्घटना टर्यो।  

त्यसबेला संसद्मा धनराजले गृहमन्त्री रविलाई सहकारी ठग करार गर्दै कारबाहीको माग गरेका थिए। 

उनले संसदमा मात्र हैन, सार्वजनिक कार्यक्रमहरूमासमेत रविमाथि कारबाही गर्नुपर्ने माग निरन्तर उठाइरहेका थिए। तर, त्यहीबेला धनराज आफैं सहकारी ठगीमा मुछिएको मितेरी सहकारीका अध्यक्ष कुम्भराजको आरोप छ। त्यसबेलाको उनको नकाब अहिले आएर उत्रिएको छ। 

सीआइबीले थाल्यो अनुसन्धान 
छानबिनका लागि निवेदन परेपछि धनराज जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ। 

मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङसहितका संचालक र कर्मचारीले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले निवेदन दिएका थिए। त्यसैमाथि प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 

‘पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा अनुसन्धानबाट हेर्छौ, यसमा को को संलग्न छन भन्ने कुरा अनुसन्धानबाट थाहा हुने भयो। अहिले हामीले मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका हौँ,’ उनले भने। 

धनराजको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईबी प्रवक्ता बोगटीले बताए। ज्योति गुरुङ भने हाल फरार सूचीमा रहेको प्रहरीले जनाएको छ। 

भदौ २८, २०८१ शनिबार १५:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।