बुटवल-गोरुसिंगेमा सात हजार रुख काटिँदै

बुटवल-गोरुसिंगेमा सात हजार रुख काटिँदै

बुटवल : बुटवल-गोरुसिंगे सडक विस्तारका क्रममा सात हजार भन्दा बढी रुख काटिने भएको छ।

वातावरण विद्हरूले ठूलो संख्यामा रुख कटान हुँदा यसले पर्यावरणका साथै वातावरण सन्तुलनमा समेत असर पुग्ने भन्दै विकल्प खोज्नुपर्ने आवाज उठाए पनि ५० किलोमिटरको खण्डभित्र अन्ततः सात हजार भन्दा बढी काटिने भएको हो।

बुटवल-गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले सडक विस्तारका क्रममा सात हजार ७ सय रुखहरू कटान गर्नुपर्ने भएकाले वन विभागसँग अनुमति मागिएको बताइन्।

‘रुख कटानको अनुमति माग गरिएको छ। अनुमतिपछि रुख कटान सुरू हुन्छ। सायद दशैंपछि हुन्छ होला’, उनले भनिन्।

साथै उनले सात हजारभन्दा बढी रुख कटान गर्ने भएकाले त्यसको सट्टामा एक रुख बराबर १० रुख रोप्ने नीति अनुसार ७० हजार भन्दा बढि रुख रोपिने बताइन्।

‘सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ’, उनले भनिन्।

यसका लागि लाग्ने सबै खर्च सम्बन्धित आयोजनाले वन विभागसँग समन्वय गरेर बेहोर्नुपर्नेछ। यसका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि दुई प्याकेजमा विभाजन गरेर निर्माण गर्ने गरी १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा गत असार १३ गते ठेक्का सम्झौता भएको थियो।

अहिले ‘साइट क्लियर’ को प्रक्रिया चलिरहेको आयोजनाले जनाएको छ। साथै सडक विस्तार कै क्रममा विद्युतका पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने सडक नाप गर्ने काम भइरहेको छ।

३० पुल, १४९ कल्भर्ट निर्माण हुने
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन्। आयोजनाका अनुसार १४९ वटा कलभर्ट र छ वटा ‘अन्डर पास, ओभर पास’ निर्माण हुने छन्। सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुनेछ।

पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने योजना अर्थमन्त्री तथा एमाले उपाध्यक्ष एवम रुपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएका बेलामै अगाडि बढेको थियो। अहिलेको यो योजना पनि नेता पौडेलकै जोडबलमा कार्यान्वयन जान लागेको हो।

त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी नयाँ आधुनिक सिग्नेचर पुल बनाइने छ। जुन नेता पौडेलले धेरै पहिलेदेखि नै संकल्प गरेकामध्येको एउटा अर्को ड्रिम प्रोजेक्ट हो।

पूर्वाधारका महत्वपूर्ण क्षेत्रका रूपमा रहेका सडक र पूलका क्षेत्रमा आधुनिक युग ल्याउनुपर्ने उनको जोड हो। तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नत्ति हुन लागेको हो। यो चरणपछि दोस्रो चरणमा चन्द्रौटा र पछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्मै चरणबद्ध रूपमा राजमार्ग विस्तार गर्ने लक्ष्य छ।

रुख बचाउनेतर्फ किन जाँदैन ध्यान ?
बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार हुनुअघि बुटवलदेखि भैरहवासम्म सडक छेउमा ठूला वर र पिपलसँगै विभिन्न प्रजातिका बोटहरू थिए। बीचमा सडक, अनि सडकको दायाँ-बायाँ ठूला रुखले सडक हरियाली थियो।

बुटवल-बेलहिया सडक सडक दुई लेन थियो। सडकको दायाँ-बायाँका बोटहरूले सडक हरियाली मात्र बनेको थिएन। त्यसले वातावरणीय पर्यावरण समेत राम्रो प्रभाव पारेको थियो।

अहिले बुटवल-बेलहिया सडक खण्ड दुई लेनबाट छ लेनको बनेको छ। सडक फराकिलो पनि बनेको छ। तर, पहिले जस्तो हरियाली नभएर उजाड छ।

बुटवल-बेलहिया सडक विस्तारका क्रममा सडकको दायाँ-बायाँ रहेका रुखहरू काटिए। अहिले सडकको बीच डिभाइडर र दायाँ-बायाँको क्षेत्रमा केही हरियाली बनाउने प्रयास त गरिएको छ, तर सौन्दर्यता सडकमा छैन। बुटवल-नारायणगढ सडक विस्तारका क्रममा पनि हजारौ रुख काटिए।

अहिले बुटवल-चन्द्रौटा सडक दुई लेनको छ। यो विस्तार गर्दा सात हजार बढी रुख काटिने भए पनि त्यी रुखहरू बचाउनतर्फ कसैले चासै दिएन।

शहरी सडक क्षेत्रमा हुर्केका रुख बचाउने उपाय खोज्ने विषयमा वन तथा भूसंरक्षण विभागमा छलफल भए पनि अहिलेसम्म त्यस्तो प्रावधानको कार्यान्वयन भने भएको छैन।

‘भेलुएबल’ (वर, पिपल, समी, आँप, सिमल, कदमलगायतका कल्पवृक्ष) रुख बचाउनुपर्नेमा वातावरणविद्को जोड छ।

विदेशका कैयन मुलुकमा भेलुएबल रुखलाई महत्व दिने गरे पनि हामीकहाँ बेवास्ता गरिने वातावरणविद् युवराज कँडेलले बताए। साथै उनीे विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने बताउँछन्। उनले विकसित मुलुकहरूले रुखहरू जोगाएर विकास गर्ने गरेको भन्दै त्यसको सिको नेपालमा पनि गर्न जरुरी रहेको बताए।

‘रुखहरू जोगाएर पनि विकास गर्न सकिन्छ भन्ने उदाहरण अरु देशमा छ। तर, यहाँ पहिलो काम नै पर्यावरण मास्ने काम भएको छ। पुर्खाले कसरी जोगाउने भन्ने थियो। अहिलेकाले कसरी रुख काट्ने भन्ने ध्यानमा छन्’, उनले भने।

वन्यजन्तुमैत्री बनाइने
यो सडक खण्ड निर्माण गर्दा विशेष रूपमा वन्यजन्तुमैत्री बनाइनेछ। नेपालका मुख्य राजमार्गहरू हालसम्म वन्यजन्तुमैत्री बनेका छैनन्। आयोजनाका अनुसार वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि १९ वटा पुल तथा क्रसिङ बनाइनेछ।

आयोजना प्रमुख न्यौपानेले सालझण्डी-पिपरा जंगल क्षेत्र, कोइली-बनगाई गोरुसिङ्गे जंगल क्षेत्र, बडहरा-बेलगुडवा नदी क्षेत्रमा पुल र त्रसिङ बनाइनेछ। ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने उनले बताइन्।

‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै सडकमा पुल र क्रसिङ बनाउन लागिएको हो’, उनले भनिन्।

भदौ २८, २०८१ शनिबार १३:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।