जातका कुरा : शिक्षक हुँदा ‘तपाईंले छोएको खादैनौँ, माइन्ड नगर्नुहोला’ भनेकै विद्यालयमा प्रधानाध्यापक बन्ने जयको चाहना

जातका कुरा : शिक्षक हुँदा ‘तपाईंले छोएको खादैनौँ, माइन्ड नगर्नुहोला’ भनेकै विद्यालयमा प्रधानाध्यापक बन्ने जयको चाहना

०६९ सालतिर, धनगढीका जय बयलकोटी स्थानीय पञ्चाधिन माविमा पढाउँथे।

चार जना शिक्षकहरू स्कुलको क्यान्टिनमा खाजा खान बसेका थिए। कार्यालय सहयोगीले तीन जनालाई पहिला अनि जयलाई अन्तिममा मात्र दिए। अझ रोचक त, तीन शिक्षकलाई हातमै थमाइदिए तर, जयको खाजा भने भुइँमा राखिदिए। जयले लगत्तै प्रतिवाद गर्दै ‘खाजा खान्नँ’ भने।

यसपटक जयको मनमा विद्रोह पस्यो। किनकि त्यसअघि पनि कयौं पटक यस्ता घटनाहरू दोहोरिइरहेको जयले सम्झिए। उनले तत्कालीन प्रधानाध्यापक जनार्दन पन्तलाई घटनाको विवरण सुनाए। स्टाफ मिटिङ बस्न माग गरे।

तर, ती प्रधानाध्यापकले न स्टाफ मिटिङ बोलाए न ती कार्यालय सहयोगीलाई माफी मगाए, उल्टो आफू हाँसोको पात्र बनेको उनलाई महसुस भयो। त्यसपछि आफूमाथि जातीय विभेद भएको व्यहोरासहित जयले विद्यालय व्यवस्थापन समितिलाई निवेदन लेखे।

त्यसैदिन ती तीन शिक्षकहरू जयको घरमा पुगेर भने, ‘अब यो केस यस्सै मिलाउनुपर्छ सर, निवेदन फिर्ता लिइदिनुपर्यो।’

तर, जय टसकोमस भएनन्। उनी जागिर गए जान्छ तर, अब विभेद सहिँदैन भन्नेमा थिए। यतिसम्म कि विद्यालय व्यवस्थापन समितिबाट आफूले न्याय नपाएको खण्डमा मिडिया अनि अदालतसम्म जाने मनस्थिति उनले बनाइसकेका थिए।

त्यसका लागि उनले केही अभिभावक, बुद्धिजीवी तथा दलित अधिकारकर्मीसँग छलफलसमेत गरेका थिए। त्यसबेला दलित समुदायको पर्याप्त साथ रहेको जय सम्झिन्छन्।

त्यसैले पनि जयले ती शिक्षकहरूलाई, ‘अब यो समस्या भनेको मेरो व्यक्तिगत समस्या मात्र रहेन, यो सिंगो दलित समुदायको कुरा हो, यसको समाधान पनि समुदायले नै गर्छ’ भनेर फर्काइदिए।

भोलिपल्ट स्टाफसहित समितिको बैठक बस्यो। त्यसबेला विद्यालय व्यवस्थापन समितिका अध्यक्षले जयको निवेदन नलिएको, स्टाफ बैठक नबसाएको र आफ्नै शिक्षकमाथि भएको जातीय विभेदबारे मौन समर्थन गरेको भन्दै बैठकमै प्रधानाध्यापकलाई झपारे। त्यसपछि प्रधानाध्यापकले माफी मागे।

कुरा रह्यो, विभेद गर्ने केसी थरका कार्यालय सहयोगीको। चौधरीले कार्यालय सहयोगीसँग स्पष्टिकरण सोधेपछि उनले जवाफ दिए, ‘मैले जानेर जय सरलाई अलग्गै खाजा दिएको हैन, मलाई उहाँ सरहरू (जयसँगै बसेका तीन शिक्षक)ले हामीलाई अलग्गै दिनु, हामी जयले छोएको खाँदैनौं भनेको हुनाले त्यसो गरेको हुँ।’

हुन पनि ती कार्यालय सहयोगी जातीय विभेदको व्यावहारिक विरोधमै थिए।

बैठकमा फेरि पनि ती शिक्षकले माफी मागे। तर, माफीले मात्र मान्नेवाला थिएनन् जय। उनले माफी मागेको कुरा माइन्युट गराए। माइन्युटमा लेखिएको थियो, ‘विद्यालयमा जय बयलकोटी सरमाथि जातीय विभेद भएको, त्यसका लागि माफी माग्दै आगामी दिनमा फेरि यस्ता घटना दोहोरिए, यही माइन्युटका आधारमा कारबाही गर्ने।’

त्यस माइन्युटको प्रभाव यति जबर्जस्त रह्यो कि, त्यसले अहिलेसम्म काम गरिरहेको जयले सुनाए। हुन त त्योभन्दा अगाडि पनि कयौंपटक त्यस्ता विभेद खेपेका जयले त्यसपटक भने अत्ति भएर संघर्ष गरेको सम्झिए। 

‘विभेद जति सह्यो त्यति विभेद गर्नेहरूमाथि प्रोत्साहन हुने रहेछ। त्यसैले त्योबेला लडेँ, त्यसैको कारण त्यहाँ आजसम्म पनि कुनै शिक्षक, कर्मचारी, विद्यार्थीमाथि विभेद गरिएको छैन। विभेदविरुद्व लडियो भने आगामी पुस्तालाई सजिलो हुने रैछ भन्ने बुझेँ’, उनले सम्झिए।

०००

धनगढीमा जन्मिएका जयले कञ्चनपुरपुरको पञ्चाधिन माविमा ५ कक्षासम्म पढे। त्यसपछि कैलालीको त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरे। सुदूरपश्चिम क्याम्पसबाट प्लसटु, स्नातकहुँदै ०६९ मा स्नातकोत्तर सके।

बुवाले खेतीपाती गरेर चलिरहेकै थियो उनको परिवार। तर, ०४९ मा बुवाकै निधन भएपछि भने उनको परिवार बिचल्ली भयो। अनि जेठो छोराको नाताले घरको सबै जिम्मेवारी जयको काँधमा आइपर्यो। आम्दानीको स्रोत नभएपछि उनले खेतीपातीको लागि गोरु जोत्न थाले। उनले कक्ष ४ देखि स्नातक दोस्रो वर्ष पढ्दासम्म यो क्रम चलिरह्यो।

आर्थिक स्थिति यतिसम्म नाजुक थियो कि, उनले कक्षा ५ देखि ९ सम्म पढ़दै गर्दा ‘लोकल रक्सी’ बनाएर बेच्नुपर्यो।

‘जुन उमेरमा साथीभाइसँग खेल्दै हुर्किनुपर्ने हो, त्यतिबेला खेल्ने फुर्सद कहिल्यै कल्पना सम्म गरिनँ’, उनले सम्झिए।

धन्न सामुदायिक विद्यालयमा पढ्ने भएकाले त्यति धेरै पैसा लाग्दैन थियो। कापी-कलम किन्ने पैसा अधियाँ गरेको खेपीपातीबाट किन्न सक्ने स्थिति थियो। उनले समय निकालेर पढ्नै पाएनन्। मुस्किलले समय निकाल्थे। तर पनि विद्यालयमा सधैँ द्वितीय, तृतीय भइरहन्थे।

जय हुर्किएको धनगढी उपमहानगरको सबैभन्दा ठूलो दलित बस्ती ‘सार्की टोल’मा हो। जहाँ दुई सय घर जति सार्की समुदायको बसोबास छ।

‘त्यो बेलादेखि आजसम्म पनि हाम्रो यो टोल सार्की टोल भएकै कारण गैरदलितहरू बसेनन्, अन्तबाट आएका गैरदलितहरूले पनि जग्गा किन्दैनन्’, उनले सुनाए।

त्यतिमात्र हैन, गैरदलितहरूले त्यहाँका दलितलाई रक्सीको भरमा जग्गा आफ्नो नाममा पास गराउनेसम्मको घटना उनले आफैँ देखेका छन्।

पढाइको सवालमा पनि यस्तै तीतो अनुभूति संगालेका छन् जयले। विद्यालयमा दलित भएकै कारण बेन्चमा बस्न पाएनन्, गैरदलित साथीहरूको कुटाइ खाइरहे।

‘हामी ७ कक्षामा पढ्दा ३/४ कक्षाका भाइबैनीले पनि सार्की भन्दै बाटोभारी कुट्थे, हामी केही गर्न सक्दैन थियौं, धेरैपटक कुटाई खाने डरले पूरै घन्टी नपढी बीचमै भागेर घर फर्किन्थ्यौँ’, उनी सम्झिन्छन्।

शिक्षकलाई सुनाउँदा पनि उनीहरूले वास्तै नगर्ने गरेको उनको अनुभव छ।

०००

जय जब स्नातक पढ्न थाले अनि उनलाई लाग्यो, ‘विभेद कति सहिरहने? अब लड्नुपर्छ।’ त्यसपछि उनी आरडिएन भन्ने अधिकारीवादी संस्थामा लागे। अनि प्रत्येक विद्यालयमा गएर दलित विद्यार्थी नेटवर्क भन्दै कमिटीहरू गठन गर्न थाले। यसैक्रममा धनगढीका २५ भन्दा बढी विद्यालयमा यस्ता समितिहरू गठन गरे।

यसले गर्दा ती विद्यालयमा हुने जातीय विभेदको बारेमा त्यस कमिटी मार्फत पीडित विद्यार्थीले प्रतिवाद गर्न सक्थे। एक वर्षजति विद्यार्थीहरूलाई विभेदबारे सजग बनाउने, संघर्ष गर्न सिकाउने, कुनै विद्यालयमा विभेदका घटना भएमा गएर समाधान गर्ने लगायतको काममा उनी सरिक भए।

तर, सधैँभरि जयको जीवन यसरी चल्नेवाला थिएन। किनभने उनको पारिवारिक स्थिति निकै नाजुक भएकाले पनि उनी सामाजिक गतिविधिमा मात्र लागिरहन सकेनन्। त्यसैले एक वर्षको त्यस अभियानलाई अल्पविराम लगाउँदै आर्थिक उपार्जनको निम्ति ०६४ मा स्वयंसेवक शिक्षकको रूपमा पढाउन थाले जयले, श्री जनता आधारभूत विद्यालयमा।

स्वयंसेवक शिक्षकमा पढाइसकेपछि उनले आफैँ पढेको पन्चाधीन माविमा पढाउने अवसर पाए बढो मुस्किलले। स्थानीयहरूले विद्यालयमा विद्यार्थीमाथि चरम जातीय विभेद हुने भएकाले दलित शिक्षक चाहिन्छ भन्ने माग गरेका रहेछन्।

त्यो थाहा पाएपछि जयले त्यहाँ गएर आवेदन दिएँ। खुलाइएको राहत कोटामा थियो तर जयले निजीमा पढाउनुपर्ने परिस्थिति बन्यो। जयलाई राहत कोटामा आउन नदिन स्थानीय निजी स्रोतमा जागिर खाएका दुई निजी शिक्षिकाहरू नै उनको विरोधमा लागे। त्यसपछि जयले निजीमा बस्न राजी भए।

त्यसबेला उनलाई जागिरको एकदमै जरुरी थियो। केही समय दु:ख गरेर लोकसेवामा नाम निकाल्ने धोको थियो उनको। उनले आठ वर्षसम्म सोही विद्यालयमा पढाए।

त्यहाँ पनि उनले तीतो अनुभव गर्नुपर्यो। त्यहाँका प्रधानाध्यापकले त उनलाई मुखै फोरेर भने, ‘हाम्रो त धर्म नै यस्तै छ सर, त्यसैले तपाईंले छोएको खादेनौँ, माइन्ड नगर्नुहोला।’

०००

जयले २०६६ देखि चार वर्षसम्म लोक सेवा परीक्षा दिँदा पार नलागेपछि शिक्षक सेवा आयोगको परीक्षा दिने निधो गरे। ०७० मा शिक्षक सेवा आयोगमा परीक्षा दिए। यो पटक पनि उनी असफल भए। एक वर्षपछि दिएको परीक्षामा भने मावितर्फको सामाजिक विषयमा उनको नाम निस्कियो।

माविमा स्थायी भएपछि उनको पोस्टिङ बैतडीमा भयो, ०७२ मा। उनले अर्जुन माविमा पढाउनुपर्ने थियो, पहिलो दिन त्यसै विद्यालयकी शिक्षिकाको होटेलमा बस्न गए। त्यसबेलासम्म ती शिक्षिकालाई जय दलित हुन् भन्ने थाहा थिएन।

भोलिपल्ट थाहा पाएपछि भने उनले पानी, खाना, खाजा सबैतिर विभेद गरिन्। त्यसो हुँदा उनलाई त्यहाँ बस्नै मन लागेन। उनले बजारमा थुप्रै डेरा खोजे। तर, दलित भएकै कारण कोठा पाएनन्। अनि त्यही विद्यालयका अर्का विश्वकर्मा थरका शिक्षककहाँ बस्न थाले।

०७६ सालमा उनी फेरि धनगढी आए, जनप्रिय माविमा। त्यसबीचमा उनले आफ्नै ठाउँको विद्यालय (पन्चाधीन मावि) मा सरूवा गराउन थुप्रैपटक प्रयास गरे। तर, प्रयास सफल भएन।

‘माविको स्थायी हुन्, पछि प्रधानाध्यापक हुन् सक्छन्, आफ्नै ठाउँमा दलितलाई प्रधानाध्यापक कसरी स्वीकार्नु भनेर मलाई त्यहाँ आउनै दिएनन्’,  उनले सम्झिए।

०००

जनप्रिय माविमै उनी पढाइरहेकै थिए। त्यसैबीचमा तत्कालीन प्रधानाध्यापकविरुद्व केही आर्थिक अनियमितता आरोप लाग्यो। उनी पदबाट हटे। त्यसपछि सुरू भयो, अब प्रधानाध्यापकको म्युजिकल चेयर।

दलित भएकै कारण थुप्रै अवसरबाट बन्चित हुँदै आएका जय यसपटक पनि प्रधानाध्यापक बन्दिन कि भन्ने लागेकै थियो। त्यसै पनि दलितहरूलाई प्रधानाध्यापक बनाउन सहजै स्वीकार्ने परिस्थिति देशैभर बनिसकेको छैन।

चाहे २०७६ मा झापाको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा खगे‌न्द्र बहादुर‌ लम्जे‌ललाई दलित भएकै‌ कार‌ण प्रधानाध्यापक नियुक्तिमा रोकिएको घटना होस् वा २०७९ मा पर्वतको स्वधर्म माविमा लालबहादुर विक प्रधानाध्यापक हुनबाट वञ्चित गराइएको घटना किन नहोस्, दलितलाई प्रधानाध्यापक बनाउनै दिइँदैन। 

कहीँ त पदमा बहाल रहँदा-रहँदै पनि दलित भएकै कारण हटाइन्छ। २०७५ मा इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक मात्रिकाप्रसाद विश्वकर्मालाई यस्तै भयो। तर, विश्वकर्माले अदालतको बाटो रोजे अनि उच्च अदालत विराटनगरले विश्वकर्मालाई निमित्त प्रधानाध्यापककै हैसियतमा काम गर्न दिनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्यो।

त्यसपछि उनले भनेका थिए, ‘जनप्रतिनिधि आएपछि खुबै केही होला भन्ने लागेको थियो तर, उनीहरू आग्रह र पूर्वाग्रहमा चल्दा रहेछन्। यो कामीलाई हेडमास्टर बनाउनु हुँदैन, यसलाई नमस्ते गर्नु हुँदैन, केही साथीहरूले यसो भन्दै मेरोविरूद्ध राजनीति गर्नुभयो।’

तर, स्थानीयले दलित पनि प्रधानाध्यापक हुँदा रहेछन् भन्ने प्रतिक्रिया दिएको उनी सम्झिन्छन्। जय प्रधानाध्यापक त बने। तर, त्यसैबेलादेखि उनको ‘काउनडाउन’ सुरू भइहाल्यो। यद्यपि उनले अभिभावक, शिक्षक, कर्मचारी अनि विद्यार्थीलाई समन्वय गराएर काम गरिरहे।

१७ सय बढी विद्यार्थी, ४० बढी शिक्षक अनि अभिभावक पनि सन्तुष्ट थिए। तर, जयलाई प्रधानाध्यापक नबनाएर गैरदलितलाई बनाउन लागि परेको टिमले उनको बारेमा गलत हल्लाहरू फैलाउन थाले। तथापि त्यसबेला प्रधानाध्यापकको रूपमा सबै पक्षमा आफ्नोबारे सकारात्मक टिप्पणी भइरहेको उनको दाबी छ।

तर, उनको एकल प्रयास लामो समय टिकेन। उनको विरुद्धमा लागेको त्यो टिमले तिनै निवर्तमान प्रधानाध्यापकलाई काजमा त्यही विद्यालय फिर्ता लिएर आयो, राजनीतिक शक्तिको आडमा।

उनले आफू आउनासाथ जयको राजीनामा मागे। तर, जयले ‘तपाईंले भन्दैमा म राजीनामा दिन्नँ, अभिभावक र विद्यार्थीले भने भने अहिले नै दिन्छु’ भन्ने जवाफ दिए। निवर्तमान प्रधानाध्यापक चुप लागेर बस्ने स्वभावका थिएनन्।  उनी मेयर, वडा अध्यक्ष, राजनीतिक दलका नेताहरूकहाँ धाउन थाले।

‘उनले यतिसम्म गरेछन् कि, मेयर कहाँ गएर अरू त सबै ठिक छ मेयरसा'ब तर, दलितलाई प्रधानाध्यापक बनाएर नमस्कार गर्ने ठाउँमा पुर्याउनुभयो, यो गलत भयोसम्म भनेछन्’, जयले सम्झिए।

त्यसबीचमा राजनीतिक दल हाबी भयो अनि राजनीतिक दाउपेज पनि सुरू भयो। यो विवादले विद्यार्थीहरूको भविष्य अन्योलमा पर्नसक्ने खतरा देखेर जयले एक वर्षपछि पदबाट राजीनामा दिए।

०००

जातीय विभेद भोगेका जयले आफू प्रधानाध्यापक भएपछि  जातीय विभेद विरुद्धमा निबन्ध प्रतियोगिता, वादविवाद प्रतियोगिता गराउनुका साथै दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिलाएको बताए।

यसका अलावा अतिरिक्त क्रियाकलापमा अनिवार्य दलित सहभागिता र एसेब्लीमै जातीय विभेद विरुद्धमा स्पिच दिन लगाइरहेको स्मरण गरे।

त्यो भन्दा पनि महत्वपूर्ण त उनको आफ्नो कार्यकालमा विद्यार्थीले कुनै विभेद भोग्न नपरेको उनको दाबी थियो।

आफूले शिक्षक हुँदा चरम विभेद भोगेको विद्यालयमा गएर प्रधानाध्यापक बन्ने योजना जयको। त्यसका लागि उनले प्रयास पनि गरिरहेकै छन्। 

उनी भन्छन्, ‘जहाँ शिक्षक हुँदा प्रधानाध्यापकबाट विभेद भोगेँ, शिक्षकबाट चरम विभेद भोगेँ, फेरि त्यही विद्यालयमा प्रधानाध्यापक भएर जाने तयारीमा छु।’

जातका कुरा

भदौ २७, २०८१ शुक्रबार २३:३४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।