देवी : क्राइम थ्रिलर जनरामा सफल फिल्म

देवी : क्राइम थ्रिलर जनरामा सफल फिल्म

छ वर्षअघि कञ्चनपुर भिमदत्त नगरपालिकाकी नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। नाबालिका बलात्कारपछिको हत्याले राज्यको दृष्टिकोण र अनुसन्धान गर्ने निकायको क्षमतामाथि प्रश्नै प्रश्न उठायो।

घटनाले निकै उग्ररूप लियो। तर, यसले बलात्कार घटनाप्रतिको न नागरिक तहमा दृष्टिकोण बदल्न सक्यो न सत्तालाई नै गम्भीर बनायो। छिमेकी मुलुक भारतमा भएका यस्तै क्रुर घटनाको प्रभावले नयाँ कानुन बने। संयन्त्र बलियो बनाउने अभ्यास भए।

तर अँह, नेपालमा केही सुधार भएन, न सत्ताकै दृष्टिकोण बदलियो न समाजकै। सत्ता र समाजको सोच यथास्थितिमै रह्यो नै, घटनाको निचोड पनि। निर्मलाको बलात्कार र हत्याको न कारक खुल्यो, न कारण।

फिल्म ‘देवी’ ले पनि यस्तै विषयको उठाउने प्रयास गरेको छ। निर्देशकले फिल्ममा पत्रकाररूपी पात्रलाई भगवानरुपी ‘देवी’को रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन्।

रिपोर्टिङका लागि तराईको घटनास्थलको रिपोर्टिङका लागि पुगेकी काया अर्थात शिल्पा मास्केमा पीडितले न्याय नपाएपछि आउने परिवर्तन र परिणाम नै फिल्मको केन्द्रीय कथा हो।

जोखिमपूर्ण रिपोर्टिङ गर्न रुचाउने पत्रकार कायालाई पश्चिमको एक गाउँमा भएको बलात्कारपछिको हत्याको स्थलगल रिपोर्टिङको जिम्मेवारी आउँछ।

उनको प्रेमी आकाशजंग राना (नाजिर हुसेन)आईजीपीका छोरा हुन्छन्। बलात्कार घटनाका पीडितसँग भेट्ने र आरोपीबारे उनी जानकार भए पनि अनुसन्धानको दायरामा आउँदैनन्।

उनमा बदलाको भाव आउँछ र बदला लिन थाल्छिन्। त्यसपछिको घटनाक्रम नै फिल्मको मुल पक्ष हो।

निर्देशकले फिल्मको कथालाई अनावश्यक लम्ब्याएका छैनन्। ९० मिनेटसम्म कथा बगेको छ। घटनाक्रम अनुसार सस्पेन्स बढाउन निर्देशक सफल छन्। फिल्ममा राम्रा ट्विस्ट छन्। अन्तिमसम्म पनि ट्विस्ट कायम छ।

सम्पादक, आईजीपी लगायतको चरित्र चित्रण कमजोर देखिन्छ। प्रहरी संगठन प्रमुखको भूमिका रक्सी खायो, बस्योमै सीमित गराएका छन्।

हुनेवाला बुहारीले बलात्कारबारे समाचार लेखेको उनलाई मन परेको छैन। तर किन? कतै खुल्दैन। पात्रगत हिसाबमा नाजिरको चरित्रचित्रण अझ सशक्त बनाउन सकिने स्थान देखिन्छ।

फिल्मको खिचाइ ठिकै छ। मिहेनत देखिन्छ। शिल्पा,नाजिर र गौरव पहाडीको अभिनय चरित्र सुहाउँदो छ। फिल्मको ब्याग्राउण्ड म्युजिक पनि ठिकै छ। तर वाह भन्न लायक भने हैन।

फिल्मको गीतले कथालाई बरालेको छैन।

क्राइम थ्रिलर जनरामा नेपालमा जुन स्तरको फिल्म बनिरहेको छ त्यसमा निर्देशक सञ्जोग राईले बलियो सम्भावना देखाएका छन्।

भदौ २७, २०८१ शुक्रबार २१:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।