रोनाल्डोको अर्को रेकर्ड : सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पुग्ने विश्वको पहिलो व्यक्ति

रोनाल्डोको अर्को रेकर्ड : सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पुग्ने विश्वको पहिलो व्यक्ति

काठमाडौं : पछिल्लो समय पोर्चुगल फुटबल टिमका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकपछि अर्को रेकर्ड बनाइरहेका छन्। सामाजिक सञ्जालमा सक्रिय उनले गएको हप्ता युट्युब च्यानल खोलेको २४ घण्टा बित्न नपाउँदै गोल्डेन बटम प्राप्त गरेर रेकर्ड बनाएका थिए। 

त्यसपछि आफ्नो नाममा अर्को रेकर्ड थप्दै रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्ने विश्वकै पहिलो व्यक्ति बन्न सफल भएका छन्।

रोनाल्डोले सामाजिक सञ्जाल एक्समार्फत आफूले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्न सफल भएको भन्दै खुसी साटेका छन्। 

रोनाल्डोले लेखेका छन्, 'हामीले इतिहास बनायौँ। एक अर्ब फलोअर्स। यो संख्या मात्र होइन, यो हाम्रो साझा जोश, उत्साह र खेल र बाहिरका लागि प्रेमको प्रमाण हो। मडेइराको सडकबाट संसारको सबैभन्दा ठूलो मञ्चसम्म, मैले सधैँ मेरो परिवार र तपाईंका लागि खेलेको छु, अब हामी एक बिलियन सँगै उभिन्छौँ।'

रोनाल्डोको फेसबुकमा पेजमा १७० मिलियन फलोअर्स छन्। इन्स्टाग्राममा ६३८ मिलियनले फलो गरेका छन्।

यस्तै, एक्समा ११३ मिलियन जोडिएका छन् भने रोनाल्डोको युट्युब च्यानललाई ६०.५ मिलियनले सब्स्क्राइब गरेका छन्।

खासगरी आफ्ना दैनिक गतिविधि र परिवारसँग समय व्यतित गरेको क्षणहरू फोटो र भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्न सौखिन छन् रोनाल्डो। ४ सन्तानका बुवासमेत रहेका रोनाल्डो छोराछोरी र श्रीमतीसँग घुमिरहेको उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ। 

अहिले साउदी अरबको अल नासरबाट फुटबल खेलिरहेका रोनाल्डोले ५ सेप्टेम्बर २०२४ मा युइएफए नेसन्स लिगको खेलमा क्रोएसियाविरुद्धको भिडन्तमा गोल गर्दै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।  

भदौ २७, २०८१ शुक्रबार १६:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।