कला र संस्कृति जगेर्नामै जीवन समर्पण गरेका श्रीगोपाल, जो प्रधानपञ्च हुँदा समेत नाच्न छाडेनन् (फोटो कथा)

कला र संस्कृति जगेर्नामै जीवन समर्पण गरेका श्रीगोपाल, जो प्रधानपञ्च हुँदा समेत नाच्न छाडेनन् (फोटो कथा)

भक्तपुर : मध्यपुर थिमिमा एउटा सानो टोल छ- पाचो टोल। यो टोललाई आजकल भक्तपुरकै महत्त्वपूर्ण सांस्कृतिक केन्द्रको रूपमा चिनिन्छ।

हरेक जात्रा र चाडपर्वमान मानिसहरू भेला भएर नाच्ने, बजाउने गाउने अनि एक-अर्कालाई सिक्ने र सिकाउने क्रम यहाँ चलिरहन्छ। त्यहि सिक्ने सिकाउनेमध्येका एक अगुवा हुन्- श्रीगोपाल प्रजापति।

वि.सं. १९८७ सालमा थिमिको एउटा साधारण परिवारमा जन्मिएका हुन् उनी। उनको बाल्यकाल साधारण भए पनि जीवनले पाएको दिशा असाधारण रह्यो।

कला र संस्कृतिको प्रेम उनमा सानैदेखि रह्यो। त्यसमा परिवार अनि बुवा सिद्धिलालको मार्गदर्शन रहने नै भयो। छ वर्षको उमेरमा उनले गाईजात्रा (गुन्हिपुन्हि)मा परम्परागत नाच नाचे।

त्यसरी नाच्दै मन्दिर घुम्न जाँदा एक जना इन्जिनियरले खुब प्रसंशा गरेर जुस खुवाएको उनलाई अझै याद छ।

‘हामी नाच्दै घुम्न गएका थियौँ,‘ उनी स्मरण गर्छन्, ‘त्यतिबेला एक जना इन्जिनियरले एकदमै धेरै प्रशंसा गरेर जुस समेत खुवाएका थिए।’

त्यो समय उनले चालेको सानो पाइला आज थिमिको सांस्कृतिक जीवनमा एक ठूलो अध्यायको प्रारम्भ भएको छ। ९४ वर्षीय श्रीगोपाल अझै पनि थिमि क्षेत्रका विभिन्न जात्रा र पर्वमा निरन्तर सहभागी हुन्छन्।

धिमाय्, पछिमा, ढोलक, धाँ, बाँसुरीजस्ता बाजा बजाउन माहिर छन् उनी। उमेर ९४ भए पनि अझै बाजा बजाउन छोडेका छैनन् उनले। उनी बाजा बजाउने कला पुस्तान्तरण गरिरहेकै छन्।

बाजाका साथसाथै नृत्यमा पनि उनी उत्तिकै पोख्छ छन्। तर अहिले नाच्न भने शरीरले दिँदैन। यद्यपि त्यसको सांस्कृतिक पक्ष र ज्ञान भने आफ्ना विद्यार्थीहरूला सिकाउँछन्।

विशेषगरी, भैरव नृत्य, महाकाली नृत्य, लाखे नृत्य, ईन्द्र अप्सरा नृत्य, र अष्टमात्रिका नृत्य जस्ता परम्परागत नृत्यहरूमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् उनले।

२०३८ सालमा, परम्परागत गुरु प्रथा अन्तर्गत भैल गुरुको रूपमा सामाजिक मान्यता पाएपछि उनले आफ्नो ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न थाले। उनले आफ्ना विद्यार्थीहरूलाई नाचको मात्र होइन, संगीत र वाद्यबादनको पनि गहिरो शिक्षा दिए।

कला र संस्कृतिमा पारङ्गत उनलाई यसमा मात्र सीमित भएर बस्न मन लागेन। त्यसैले २०१८ सालमा उनी श्री महेन्द्र चपाचो गाउँ पञ्चायतको वडा सदस्यमा मनोनित भए।

त्यसपछि वि.सं. २०२०, २०२३, २०२६, र २०२९ सालका निर्वाचनहरूमा प्रधानपञ्च निर्वाचित भएर कला प्रवर्द्धनमा काम गर्न थाले। उनको नेतृत्वमा गाउँ पञ्चायतले थिमिको कला र संस्कृतिलाई थप बलियो बनायो। उनले कलालाई मात्र नभई समाजसेवा र नेतृत्वमा पनि आफ्नो कुशलता देखाए।

प्रधानपञ्च भए पनि उनले नाच्न र नाच सिकाउन भने छाडेनन्। जात्रा र चाडपर्वको बेला उनी आफैँ नाचेर मध्यपुर ठिमी परिक्रमा गर्थे। ती दिन सम्झिँदा उनको अनुहार उज्यालिए।

‘प्रधानपञ्च हुँदा समेत म आफैँ नाच्थेँ। मान्छेहरूले देखेर ओहो श्री गोपाल ( प्रधानपञ्च) नाचेको हेर त भन्दै जिस्काउँथे’, उनले ती दिन सम्झिए।

वि.सं. २०२६ सालमा थिमिको परम्परागत भैरव नाच लगभग लोप हुने अवस्थामै पुगिसकेको थियो, श्रीगोपालले यसलाई पुनः स्थापित गर्नका लागि अग्रसरता लिए। त्यहिअनुसार उनले काम पनि गरे।

कला र संस्कृतिलाई चिनाउँदै आएका उनले २०४९ सालमा फिनल्याण्डमा नेपालको सांस्कृतिक समूहको सदस्यको रूपमा यात्रा गरे। विदेशमा पनि नेपाली परम्परागत नृत्य र संगीतलाई प्रस्तुत गरेका कारण उनी एक अन्तर्राष्ट्रिय कलाकारको रूपमा समेत चिनिए।

कला केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो समाज र संस्कृतिको धरोहर हो भन्ने बुझ्न श्रीगोपालको जीवनको अध्ययन गरे पुग्छ। उनले नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन, र प्रबर्द्धनको लागि आफ्नो जीवन अर्पण गरे।

श्रीगोपालले आफ्नो जीवनको हरेक क्षण कला र संस्कृतिलाई जगेर्ना गर्नमा बिताए। बाचुन्जेल यसमै लागिरहने उनको धोको छ। देशको कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा गरेको समर्पणलाई उनी आफ्नो जीवनको सार मान्छन्।

 

भदौ २८, २०८१ शुक्रबार १४:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।