दिल्लीका मुख्यमन्त्रीलाई सर्वोच्चबाट जमानत, १७७ दिनपछि जेलबाट बाहिरिँदै
एजेन्सी : भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन्।
जमानत पाएसँगै उनी १७७ दिनपछि जेलबाट बाहिर आउनेछन्। मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा सीबीआईले उनलाई गत जुन २६ मा पक्राउ गरेको थियो।
अदालतले उनलाई जमानतका लागि मुख्यमन्त्री कार्यालय जान नपाउने, मुद्दासँग सम्बन्धित कुनै पनि सार्वजनिक अभिव्यक्ति दिन नपाइने, अनुसन्धानमा बाधा पुर्याउने वा साक्षीहरूलाई प्रभाव पार्न नपाइने र आवश्यकता अनुसार ट्रायल कोर्टमा उपस्थित हुनुपर्ने गरी चार वटा शर्त राखेको छ।
केजरीवालको तर्फबाट सीबीआईले गरेको गिरफ्तारीविरुद्ध दुई वटा मुद्दा दायर भएका थिए। यी दुवै मुद्दामा सेप्टेम्बर ५ मा सुनुवाइ भएको थियो। तर निर्णय भने आज सुनाइने भनिएको थियो।
केजरीवाललाई यस वर्ष मार्च २१ मा ईडीले अन्तःशुल्क नीतिको सम्बन्धमा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।
तर, २०२१/२२ को लागि दिल्ली सरकारको अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप लगाउँदै केजरीवाललाई सीबीआईले २६ जुनमा पुन: गिरफ्तार गरेको थियो। तर, यो नीति अहिले खारेज भइसकेको छ।
मनिष सिसोदिया, पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, राज्यसभा सांसद संजय सिंहलाई पनि कथित मदिरा घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो।
गत महिना ९ अगस्टमा आम आदमी पार्टीका दोस्रो नेता सिसोदिया जमानतमा बाहिर आएका थिए। उनी ५३० दिन जेलमा बसेका थिए।
भदौ २८, २०८१ शुक्रबार ११:२९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।