ह्यारिससँगको दोस्रो राष्ट्रपति बहस ट्रम्पद्वारा अस्वीकार
एजेन्सी : रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग ‘दोस्रो राष्ट्रपति बहस’को सम्भावनालाई अस्वीकार गरेका छन्।
दुई दिनअघि मात्रै यी दुईबीच पेन्सिलभेनियाको फिलाडेल्फियामा पहिलो राष्ट्रपति बहस भएको थियो। ट्रम्पले आफूले यो बहस स्पष्ट रूपमा जितेकाले ह्यारिले पुनः बहस गर्न चाहेको बताएका छन्।
यद्यपि, मंगलबारको बहसपछि तुरुन्तै गरिएको सर्वेक्षणहरूले ह्यारिसले उनको रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्पभन्दा राम्रो प्रदर्शन गरेको नतिजा आएको थियो। त्यसपछि ह्यारिसमाथि टिप्पणी गर्दै ट्रम्पले भनेका थिए- ‘यसको सट्टा ह्यारिसले उपराष्ट्रपतिको रूपमा आफ्नो काममा ध्यान दिनुपर्छ।’
उत्तरी क्यारोलिनामा चुनावी अभियानको र्यालीको केही समयपछि ह्यारिसले मतदाताहरूका लागि अर्को बहस आवश्यक भएको भन्दै त्यसको जिम्मेवारी आफूसँग भएको बताइन्।
मंगलबार एबीसी न्यूजमा ९० मिनेटको बहसपछि दुवै उम्मेदवारले आफू विजयी भएको दाबी गरेका थिए। तर अधिकांश मिडियाहरूले गरेको सर्वेक्षणमा झिनो मतले ह्यारिस नै अगाडि देखिन्छिन्।
भदौ २८, २०८१ शुक्रबार १०:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।