पश्चिम बंगालकी मुख्यमन्त्रीले भनिन्- ‘म राजीनामा दिन तयार छु’
एजेन्सी : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पदबाट राजीनामा दिन तयार रहेको बताएकी छन्।
कोलकाताको आरजी कार मेडिकल कलेजमा एक डाक्टरको बलात्कारपछि भएको हत्याविरुद्ध चलिरहेको विरोध प्रदर्शनका बीच उनले यस्तो बताएकी हुन्।
सरकारको निमन्त्रणामा ३२ दिनदेखि आन्दोलनरत जुनियर चिकित्सकको ३२ सदस्यीय प्रतिनिधिमण्डल सचिवालय पुगेको थियो। उनीहरूले बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राखेका थिए।
तर, मुख्यमन्त्री बनर्जी त्यसका लागि तयार नभएपछि आन्दोनकारी जुनियर चिकित्सकहरू उत्तिकै फर्किएका थिए। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकको प्रत्यक्ष प्रसारण गर्न नसकिने सरकारी भनाइ थियो।
त्यसपछि ममता बनर्जीले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो र आफ्नो सरकारको धेरै अपमान भएको गुनासो गरिन्। उनले मुद्दाबार गलत जानकारी फैलाइएको जनताले मुद्दाको रङ्ग देख्न नपाएको उल्लेख गरेकी हुन्।
भाजपाकेन्द्रीत सम्बोधन गर्दै उनले भनिन्, ‘म राजीनामा दिन तयार छु। उनीहरू न्याय होइन कुर्सी चाहन्छन्। मलाई आशा छ कि मानिसहरूले यो बुझ्नेछन्।’
प्रतिनिधिमण्डलका अधिकांश व्यक्ति बैठकमा आउन इच्छुक भए पनि बाहिरबाट सम्झौता नगर्न निर्देशन दिइएको मुख्यमन्त्री बनर्जीको आरोप छ। उनले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै पीडितलाई न्याय दिन आफू तयार रहेको बताइन्।
बनर्जीले भनिन्, ‘जुनियर डाक्टरहरूको आन्दोलनका कारण अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ भने सात लाख मानिस उपचारबाट बञ्चित भएका छन्। यो भन्दा लाजमर्दो अरु केही हुन सक्दैन।’
त्यसपछि जुनियर डाक्टरहरूले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले आफूहरूलाई गलत बुझेको आरोप लगाए। आफूहरू कुर्सीका लागि नभएर न्यायकै लागि पुगेको उनीहरूको भनाइ छ।
‘हामी कुरा गर्न मात्रै आएका हौँ तर मुख्यमन्त्रीबाट हामी निराश भएका छौँ,’ एक जुनियर डाक्टरले भने, ‘अझै पनि आशा छोडेका छैनौँ, वार्ताका लागि तयार छौँ।’
भदौ २७, २०८१ बिहीबार २३:३४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।