गणेश बस्नेतलाई पक्राउ गर्न खोजेपछि पत्रकार महासंघको आपत्ति

गणेश बस्नेतलाई पक्राउ गर्न खोजेपछि पत्रकार महासंघको आपत्ति
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत

काठमाडौं : नेपाल पत्रकार महासंघले एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा काठमाडौंको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी भएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेको उल्लेख छ।

छलफलमा रहेका अन्य पत्रकारहरूले प्रतिरोध गरेपछि प्रहरीले उनलाई पक्राउ नगरी फर्केको विज्ञप्तिमा लेखिएको छ।

सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको भनाइ छ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ।

बस्नेत प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

भदौ २६, २०८१ बिहीबार २०:२५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।