नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न थालियो, पहिलो दिन अकबरे र करेला पठाइयो

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न थालियो, पहिलो दिन अकबरे र करेला पठाइयो

काठमाडौं : नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरू गरिएको छ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक कार्यक्रमकाबीच नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरिएको हो। 

यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो। त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ। 

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो। 

कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवर्द्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश छ। 

आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन्। 

दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए।  

भदौ २६, २०८१ बिहीबार १६:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।