अदालतको आदेशसँगै मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

अदालतको आदेशसँगै मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत : भदौ २८ गते (भोलि)का लागि तय भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

विद्यार्थीहरूले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा उच्च अदालत सुर्खेतको निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै निर्वाचन स्थगित भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएपछि साइन्स एण्ड टेक्नोलोजी विभागको छैटौं सेमेस्टरका विद्यार्थीले बुधबार उच्च अदालत सुर्खेतमा रिट हालेका थिए।

आफूहरूलाई पनि मतदान प्रकियामा सहभागी गराउनुपर्ने उनीहरूको माग छ।

रिटमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पाेख्रेलकाे एकल इजलासले कार्यकारी परिषद्का नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।

इजलासले अन्तरिम आदेश र छलफलका लागि असाेज ६ गते दुवै पक्षलाई बाेलाएकाे उच्च अदालत सुर्खेतका प्रवक्ता एवम् उप-रजिष्ट्रार प्रेम थापाले जानकारी दिए।

मध्यपश्चिम विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो।

भदौ २६, २०८१ बिहीबार १४:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।