संवैधानिक परिषद्मा बहुमत पुर्‍याउने सत्तापक्षको दाउ, उपत्यका नछोड्न सांसदलाई कांग्रेसको पनि ह्वीप

संवैधानिक परिषद्मा बहुमत पुर्‍याउने सत्तापक्षको दाउ, उपत्यका नछोड्न सांसदलाई कांग्रेसको पनि ह्वीप

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ।

प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका बताए। उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ।

सरकारमा रहेका प्रमुख दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरले नैतिकताका आधारमा राजीनामा नदिए कारबाही गर्ने भनिरहेका बेला कांग्रेसले ह्वीप जारी गरेको हो।

असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाइदिने भनेर पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र उनीहरूबाट आर्थिक लाभका विषयमा ‘डिल’ विषय सार्वजनिक भएको थियो। यस विषयलाई लिएर अहिले सत्ताधारी दलहरूले जोडतोडका साथै उठाइरहेका छन्।

नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदमा पेश गर्ने गरेर अनुचित कार्यको प्रस्ताव पेश गर्ने कांग्रेस-एमालेको तयारी छ।

संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ। जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ।

यसअघि एमालेले मंगलबार नै आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ।

यसैबीच बुधबार साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

संवैधानिक परिषद्मा आफ्नो बहुमत नपुग्ने भएपछि संवैधानिक परिषद्का अध्यक्षसमेत सहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन्।

अब उपसभामुख हटाएर आफू अनुकुल संवैधानिक परिषद् नभएसम्म बैठक नबस्ने ओलीको दाउ देखिन्छ। प्रतिनिधि सभाको अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बस्दैछ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज २० गतेदेखि अवकाश हुँदैछन्।

भदौ २६, २०८१ बिहीबार ०७:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।