कांग्रेस-एमालेले साना दललाई सखाप पार्न खोजेको सीकेको आरोप, सत्तामै रहेर पनि उपसभामुखको पक्षमा

कांग्रेस-एमालेले साना दललाई सखाप पार्न खोजेको सीकेको आरोप, सत्तामै रहेर पनि उपसभामुखको पक्षमा

काठमाडौं : सत्तारुढ दल जनमत पार्टी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रियाको विपक्षमा उभिएको छ। जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको आरोप लगाए। 

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले सत्तारुढ ठूला दलले गलत नियत राखेको उनले तर्क गरे। 

‘एकदम गलत नियतका साथ भइरहेको छ। संवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि यो सबै कुरा भइरहेको छ। बहुमत नहुँदा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर उपसभामुख हटाउनका लागि यो भइरहेको छ’, अध्यक्ष राउतले भनेका छन्, ‘जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ। यसो नगरिदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ। किनकि उपसभामुखज्यू एकदम प्रतिष्ठित र सबैभन्दा योग्य व्यक्तिहरूमध्ये एक हुनुहुन्छ जस्तो मलाई लाग्छ।’

अध्यक्ष राउतले ठूला दल कांग्रेस-एमाले सम्मिलित सरकार र प्रतिनिधि सभा साना पार्टीहरूलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको गुनासो गरे। 

'के देखिन्छ भन्दाखेरी साना पार्टीहरूलाई अरु पार्टीहरूले कसरी सखाप पार्ने? केही सीमित नेताहरूलाई मात्रै कसरी प्रतिशोध साँध्ने? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु,’ उनले सुनाए। 

आइतबार बसेको सत्ता साझेदार दलको बैठकले उपसभामुखलाई हटाउने निर्णय गरेको थियो। तर, त्यस सत्ता साझेदार दल नै भएपनि त्यस बैठकबारे आफू बेखबर भएको सिकेको भनाई छ। 

'हिजो अस्ति सत्ता गठबन्धनको बैठक बस्यो भनेर मैले पनि पढेँ। कता के भइरहेको छ? अहिलेसम्म न्यूनतम् साझा कार्यक्रम पनि बनेको अवस्था छैन। न त कसैसँग छलफल हुन्छ। न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले। हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा, उनले भने।  

भदौ २५, २०८१ बुधबार २०:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।