बलिउड अभिनेत्री मलाइकाका बुवाले बिल्डिङको सातौं तलाबाट हाम फालेर गरे आत्महत्या

बलिउड अभिनेत्री मलाइकाका बुवाले बिल्डिङको सातौं तलाबाट हाम फालेर गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोडाका बुवा अनिल अरोडाको मृत्यु भएको छ। 

अनिलले बान्द्रास्थित एक बिल्डिङको सातौं तलाबाट हाम फालेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। यो घटना बुधबार बिहान ९ बजेको हो। 

उनले किन बिल्डिङबाट हाम फाले भनेर खुलासा भएको छैन। उनी पछिल्लो केही समयदेखि बिरामी थिए। पुलिसको प्रारम्भिक जाँचमा कुनै आत्महत्या नोट भेटिएको छैन। 

घटनामा प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ।

जोइसका अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे। उनीसँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भए पनि केही समयदेखि उनीहरू आयशा मनोरको सातौं तल्लामा सँगै बस्थे।

बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन्। तर बाल्कोनीमा उनी थिएनन्। तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुईंमा पछारिएका थिए।

बुवाको मृत्यु हुँदा मलाइका पुणेमा थिइन्। खबर पाउने बित्तिकै उनी मुम्बईमा आएकी छन्। मलाइकाका पूर्वपति अरबाज खान आफ्नो परिवारसहित घटनास्थलमा पुगेका छन्। 

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

भदौ २६, २०८१ बुधबार १९:३६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।