जितु नेपाललाई प्रश्न : दीपक-दीपालाई पछार्न फिल्म जुधाउनु भएको हो?
काठमाडौं : आगामी असोज २४ मा तीन वटा नेपाली फिल्महरू हलमा प्रदर्शनमा आउन लागेका छन्। एक वर्षअघि नै दसैंमा प्रदर्शन गर्ने भनिएको फिल्म ‘छक्का पञ्जा ५’का अलावा ‘ज्वाइँ साब’र ‘१२ गाउँ’ छन्। यतिबेला फिल्म ‘१२ गाउँ’को भन्दा पनि दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनित फिल्म ‘ज्वाइँ साब’को चर्चा बढि छ।
किनभने छक्का पञ्जाकै टिमबाट निकालिएका जितु लगायतका टिमले दीपाश्रीको ‘छक्का पञ्जा ५’सँग फिल्म जुधाएपछि चर्चाको विषय बनेको हो।
बुधबार फिल्म ‘ज्वाइँ साब’मा समावेश गीत रिलिज कार्यक्रम राखिएको थियो। वसन्त निरौला निर्देशित फिल्ममा समावेश गीत ‘कसम बत्ती’को सार्वजनिक कार्यक्रममा दसैं तिहार कसैको पेवा नभएको र कसैको फिल्मसँग आफूहरूले नजुधाएको बताइयो। हलभित्र निकै आक्रोशित बनेका निर्माण टिमले बाहिर आफुहरु दीपकराज गिरीसँग कुनै इगो नभएको बताए।
पत्रकारसँगको कुराकानीमा जितुले दीपकराज गिरी, केदार घिमिरे, दीपाश्रीबाट र कहिँबाट कुनै त्यस्तो खाल्को प्रतिक्रिया नआएको बताए।
‘अस्ति हामी दिनेश डिसी बोर्ड अध्यक्ष हुँदा भेट भो,’ उनी आक्रोशित हुँदै भने, ‘तर, मिडियामा यो आइरहेको छ कि, जितु र दीपकको इगोको कारण, त्यो ग्रुपमा नरहेको कारणले यो फिल्म जुधायो भन्ने डिफिनेट्ली त्यो होइन।’
उनले आफूले अभिनय गरेको फिल्म तिहारमा प्रदर्शन गर्ने एकप्रकारको छलफल भएको थियो तर, त्यतिबेला हिन्दी फिल्मसहित ४ वटा प्रदर्शनमा आउने भएपछि निर्माता, वितरकसँगको छलफलमा दसैंको फूलपाती रोजिएको दाबी गरे।
‘यो फिल्म तिहारमा गर्ने भन्ने एक प्रकारको कुरा थियो। तिहारमा फेरि हिन्दी फिल्म २ वटा अनि फेरि नेपाली फिल्म पनि २ वटा भएपछि चार वटा फिल्म हुने भयो,‘ उनले भने, ‘त्यसपछि करण श्रेष्ठजीले यो फिल्मको वितरणको जिम्मा लिनुभएको छ। उहाँहरूसँग बस्दाखेरि यो फिल्म अहिलेको दसैंमा नलाग्ने भएदेखि फागुनतिर जाने भयो। तर, फागुनमा पनि अर्को फिल्मसँग जोडिने भयो।’
उनले फिल्म ‘१२ गाउँ’ आउँछ भन्ने कुरा नभएको र छक्का पञ्जा दसैंमा आएपछि त्योसँगै प्रदर्शनमा आउनुपर्ने बाध्यता रहेको उनको भनाई छ।
उनले थपे, ‘छक्का पञ्जासँगै आउने भएदेखि एउटा अप्सन छ। दुईवटासँगै आउने भएदेखि च्वाइस पनि हुन्छ, यो तपाईंको इच्छा है भन्या हो।’
जितुले निर्माता राजकुमार पण्डित लगायतसँगको छलफलपछि आफुहरु ले दसैंको फूलपातीमा रिलिज गरौं है भन्ने भएको तर्क गरे।
‘यो मितिमा फिल्म लगाउनुपर्छ भनेर मैले साइन त गरेको छैन। यो फिल्ममा मैले निर्देशकले भनेर काम गर्छु भनेर साइन गरेको छु। अब लगाउँछु भन्ने विषय उहाँहरूको हो। यो फिल्म प्रदर्शन उहाँहरूले गरेको हो, पत्रकारको जबाफ दिँदै उनले भने, जितुको इगोको कारणले जुध्न आयो, दीपकहरूलाई पछार्न खोज्यो। यि यस्ता आएका छन्। यो कदापि होइन।’
यो फिल्ममा जितुका अलावा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ भने राजकुमार पण्डितको प्रस्तुतिमा फिल्म तयार भएको हो।
भदौ २६, २०८१ बुधबार १८:२६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।