मैले भन्दै आएको छु 'मौका पाएपछि नेपालीले गर्छ'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन्।
बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताए।
पलेसालाई दिइने ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने दाबी गरे।
उनले भने, ‘मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु। हामीले नयाँ नयाँ सफलता र कीर्तिमान कायम गर्नुपर्छ। पुराना रेकर्डहरू तोड्दै जानुपर्छ। हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ। एसियन खेम लक्ष्य हुनुपर्छ।’
उनले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे।
खेल क्षेत्रका संस्थाहरू लोकतान्त्रिक रुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने उनको भनाई छ।
भदौ २६, २०८१ बुधबार १७:५२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।