कलाकार भिसामा विदेश पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट २० लाखसम्म ठगी गरेको आरोपमा 'इकु' पक्राउ

कलाकार भिसामा विदेश पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट २० लाखसम्म ठगी गरेको आरोपमा 'इकु' पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए। 

पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको बताइएको छ। 

उनले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए। 

पक्राउ परेका सूर्यमानको आज जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ। 

भदौ २५, २०८१ बुधबार १७:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।