रवि लामिछानेले भने 'सात महिनाअघि देउवाले नै भेटेर मलाई प्रधानमन्त्री अफर गरेका हुन्'

रवि लामिछानेले भने 'सात महिनाअघि देउवाले नै भेटेर मलाई प्रधानमन्त्री अफर गरेका हुन्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले आफूलाई भेटेर प्रधानमन्त्री प्रस्ताव गरेको दाबी गरेका छन्। 

सात महिनाअघि तत्कालीन गृहमन्त्रीका रूपमा लामिछानेले एमाले-माओवादी गठबन्धन सरकारमा थिए। उनले त्यसबेला एमाले-माओवादी गठबन्धनबाट बाहिरिएर आफूहरूसँग आउनका लागि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको भनेका थिए।

उनले सार्वजनिक फोरम तथा संसदबाट पनि पटकपटक कांग्रेसले आफूलाई सरकारमा आउनको लागि प्रधानमन्त्री अफर गरेको र  प्रधानमन्त्री बन्न दिएको ‘कन्ट्रयाक पेपर’ आवश्यक परेका दिन सार्वजनिक गर्ने बताएका थिए। तर, कांग्रेसको तर्फबाट कसले प्रस्ताव गरेको भन्नेबारे 'समय आएपछि' खुलाउने भनेका थिए।

आज लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई शेरबहादुर देउवा आफैँ आएर प्रधानमन्त्री प्रस्ताव गरेको दाबी गरे। 

सहकारी ठगीको छानबिन प्रभावित पार्न हारगुहार गरेको छ रे नि भन्ने प्रश्नको जवाफमा लामिछानेले प्रधानमन्त्रीसँग भेट हुनु स्वाभाविक भएको र धेरैअघि मात्र देउवासँग भेट भएको बताए। 

उनले भने 'मैले भेटेको छैन शेरबहादुरजीलाई कुनै बेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको हो। उहाँले नै मलाई भेटेको हो। मैले उहाँलाई त्यसपछि भेटेको छैन, उनले भने। 

त्यसअघि रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद मनिष झा लगायतका नेताहरूले कांग्रेसको नाम नलिई ‘कसैले च्याप्प समातेर प्रधानमन्त्री बनाइदेला भनेर जोगिएर हिँड्नु परेको’ भन्दै कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको बताएका थिए। 

त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती दिएका थिए।  

भदौ २५, २०८१ बुधबार १५:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।