कांग्रेसले पनि माग्यो उपसभामुखको राजीनामा, भन्यो- ‘मुलुकको शीर झुकाउने काम भयो’
काठमाडौं : नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ।
बुधबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानामगरले पदीय मर्यादाविपरीत अनुचित कार्य गरेको विषयमा कुनै द्विविधा नरहेको ठहर गरे।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।
चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन्।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र दुई महिनाअघि सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा तानिएकी थिइन्।
प्रमुख सचेतक घिमिरेले एमाले र कांग्रेसको मात्रै दुई तिहाइ नपुग्ने भएकाले यस विषयमा सत्तारुढ दलहरूबीच साझा धारणा बनाउन आवश्यक रहेको बताए।
उनले थपे, ‘साझा धारणा बनाउने कुरा भएको छ। आजै, भोलि नै उपसभामुखलाई निकालिहाल्ने भन्ने होइन। हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा पहिले नै उहाँले मार्गप्रशस्त र बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’
उपसभामुखको पत्रले संसदलाई नै अपमानित गरेको भन्दै घिमिरेले यसलाई समान्य रुपमा लिन नहुने बताए।
‘यो चानचुन विषय होइन। उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैँले लेख्नुभएको छ। संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ।’
एमालेले यसअघि नै उपसभामुखको राजीनामा माग गरिसकेको छ। मंगलबारकाे प्रतिनिधि सभा बैठकअघि एमालेले आफ्ना सांसदहरूलाई उपसभामुख रानामगरको राजीनामा मागको विषय सदनमा उठाउन सर्कुलर नै जारी गरेको थियो।
भदौ २६, २०८१ बुधबार १२:२८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।