आजबाट देशभर सामसुङ मोबाइलको डिस्प्ले बन्द

आजबाट देशभर सामसुङ मोबाइलको डिस्प्ले बन्द

काठमाडौं : नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ मोबाइलको डिस्प्ले बन्द गरेकाे छ।

व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र धनगढीमा भदौ २० गते भएको रिटेल मिट नै बन्द गरेको भन्दै व्यवसायीहरूको छाता संगठन महासंघले सामसुङ नेपालविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

भदौ २० गते धनगढीमा सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै रिटेल मीट कार्यक्रम आयोजना गरेको थियो।

व्यवसायीहरूले मार्जिनको विषय उठाउँदा कम्पनीले त्यसबारेमा अहिले कुरा नगर्ने भनेपछि उनीहरुले रिटेल मीट बहिस्कार गरेका थिए। यस विषयमा महासंघको केन्द्रले पनि कुरा उठाउँदै आएको थियो।

महासंघले पहिलो चरणमा आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको डिस्प्ले नगर्ने निर्णय गर्दै त्यसपछि पनि कम्पनीबाट वार्ता र सहमतिको वातावरण नबनाएर भदौ २८ र २९ गते कम्पनीका व्यावसायिक प्रतिनिधिलाई फिर्ता पठाउने घोषणा गरेका छन्।

त्यसपछिको वातावरण हेरेर थप आन्दोलनका कार्यक्रम निर्धारण गरिने महासंघका उपाध्यक्ष रमेश घिमिरेको भनाइ छ।

यस विषयमा सामसङ नेपालका प्रतिनिधि प्रणय स्थापितसँग कुरा गर्न खोज्दा उनको फोन उठेन।

भदौ २६, २०८१ बुधबार ११:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।