नेदरल्याण्ड्स र जर्मनीले अंक बाँड्दा केनको दुई गोलमा इंग्ल्याण्ड विजयी

नेदरल्याण्ड्स र जर्मनीले अंक बाँड्दा केनको दुई गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं : युइएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्ड्स र जर्मनीले अंक बाँड्दा कप्तान हेरी केनको गोलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २-० गोल अन्तरको जित निकालेको छ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १००औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए। ५७ औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए।

उनै केनले ७६ औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो। त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २-० गोल अन्तरले विजयी भयो।

उता समूह ३ अन्तर्गतको दोस्रो चरणको खेलमा जर्मनी र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

नेदरल्याण्ड्सले सुरुमै अग्रता लिए पनि त्यो जोगाउन असफल भयो। दोस्रो मिनेटमै टिजानी रिजेन्डर्सले रियान गार्भेनबर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

३८औं मिनेटमा जर्मनीका डेनिज उनडेभले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा उनडेभकै पासमा जोसु किमिचले गोल गरेपछि जर्मनीले पहिलो हाफको अन्त्यमा २-१ को अग्रता बनाउन सफल भयो।

तर, ५०औं मिनेटमा नेदरल्याण्ड्सका डेनियल डमफेरिसले ब्रेन ब्रोबेइको पासमा गोल गर्दै २-२ को बराबरी गर्न सफल भए।

भदौ २६, २०८१ बुधबार ०७:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।