परिवार सम्झेर कार्यक्रम हलमै भक्कानिए ‘खुस्मा’का अभिनेता धिरज मगर
काठमाडौं : फिल्मको प्रमोसनका बेला नेपाली कलाकारहरू क्यामेरा अगाडि देखेपछि भक्कानिने गर्छन्। अभिनेत्री पूजा शर्मालाई त रोएरै फिल्म चलाउने आरोप समेत लाग्दै आएको छ। मंगलबार पनि आफू अभिनित फिल्म ‘खुस्मा’का अभिनेता धिरज मगर पनि ट्रेलर रिलिज कार्यक्रम हलमा नै भक्कानिए।
हलको साइडमा बसेकी एकजनाले कलाकार मगर बोल्दा बोल्दै नरोऊँ है भन्दै सम्झाउँदै थिइन्। दर्जनौं क्यामेरा अगाडि भएका बेला उनी भक्कानिएका हुन्। उनी भक्कानिदा छेवैमा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले सम्झाउन थालिन्। बोल्दा बोल्दै भक्कानिएका उनलाई समालिन केही समय लाग्यो।
उनी भक्कानिनुको मुख्य कारण थियो, उनको जन्मदिनमा आफ्नो परिवार सँगै नहुनु। जन्मदिनको छेको पारेर फिल्मका निर्देशक अशोक थापा मगरले फिल्मको ट्रेलर सार्वजनिक गर्नुका साथै बाहिर केकको व्यवस्था देखेर उनी भक्कानिएका थिए।
रुकुममा जन्मिएका धिरज दुई वर्षको हुँदा उनी आफ्नो परिवारसँगै युके गए। आफू जन्मिएको ठाउँमा नै फिल्मको छायांकन गर्न पाउँदा नै आफू हर्षित भएको बताए।
‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ। दुई बर्षको हुँदा म युके गएको, जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजु, काका–काकीलाई भेट्न पाएँ।’
उनले आफू युकेमा बसेपनि आफूले युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहेको बताए। अहिले यो फिल्ममा काम गर्न पाउँदा आफू केही हदसम्म सफल भएको उनको भनाई छ।
आगामी असोज ३ बाट यो फिल्म देशभरका हलमा रिलिजमा आउँदैछ। फिल्मलाई अशोक थापा मगरले नै लेखेका हुन्।
भदौ २५, २०८१ मंगलबार २१:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।