नारायणी अस्पतालमा क्यान्सरको उपचार सेवा शुरु

नारायणी अस्पतालमा क्यान्सरको उपचार सेवा शुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताएका छन्। 
    
नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको बताए। 

'मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यक पर्ने जनशक्ति छैनन्। एकैपटक सय जना डाक्टर र नर्सको दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो। तर, राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन, उनले भने। 

उनले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताए। 
    
मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे। 

उनले सरकारी अस्पतालमा बिरामीलाई चाहिने सबै सेवाहरू उपलब्ध हुने गरि काम गर्ने बताए। 

उनले भने, 'क्यान्सरका बिरामीहरू दिनप्रतिदिन बढिरहेका छन, क्यान्सर भएर भएभरको सम्पति सकिएको महिनाकै ८० हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको गुनासोहरू क्यान्सर रोगका बिरामीका आफन्तले मसँगै गरेका छन्। त्यसकारण धनी र गरिब सबैले स्वास्थ्य सेवा सामान ढङ्गले पाउनु पर्ने स्थिति हुनुपर्छ।’

भदौ २५, २०८१ मंगलबार २१:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।