'सहकारी ठगी'को आरोप लागेका उपसभापति धनराज र उपसभामुख रानाबारे निर्णय लिन कांग्रेस बैठक बस्दै

'सहकारी ठगी'को आरोप लागेका उपसभापति धनराज र उपसभामुख रानाबारे निर्णय लिन कांग्रेस बैठक बस्दै

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्। 

देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। 

बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ। खासगरी सहकारी ठगीको आरोप लागेका पार्टी उपसभापति धनराज गुरुङबारे नेताहरूको धारणा बनाउन देउवाले बैठक बोलाएका हुन्। 

तर, धनराजले भने यसबारे आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनले आजको संसद् बैठकमा समेत आफूमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नसमेत चुनौती दिएका छन्। 

त्यस्तै, भोलि बस्ने बैठकले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउने छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो। त्यसक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरूलाई सर्कुलर दिएपछि आजको संसद् बैठकमा एमाले सांसदहरूले उपसभामुखको राजीनामा मागेका थिए। 

तर, कांग्रेसका सांसदले भने त्यसबारे केही पनि बोलेनन्। 

भदौ २४, २०८१ मंगलबार २१:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।