मुख्यमन्त्री हिक्मतलाई ९ वटा माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार प्रहरी नियन्त्रणमा

मुख्यमन्त्री हिक्मतलाई ९ वटा माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार प्रहरी नियन्त्रणमा

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको प्रदेश सभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिर अगाडि अनशन बसेकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

त्यसक्रममा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी चलेको थियो। यसबीचमा कार्कीका केही समर्थक पनि पक्राऊ परेका छन्।

मोरङ प्रहरीका एसपी नवराज कार्कीले कार्कीलाई उनकै निवासमा लगेर छाडिने बताए। 

मुख्यमन्त्री हिक्मत कार्कीले आफ्ना माग सम्बोधन नगरेको भन्दै केदार कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन थालेका थिए। त्यस क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय मोरङले दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो।

केदार कार्कीले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन्।  

भदौ २४, २०८१ मंगलबार २०:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।