देउवाको दाबी : बीपी कोइराला अलराउण्डर हो, उहाँजस्तो नेता अहिलेसम्म अरू पार्टीमा जन्मिएको छैन

देउवाको दाबी : बीपी कोइराला अलराउण्डर हो, उहाँजस्तो नेता अहिलेसम्म अरू पार्टीमा जन्मिएको छैन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रबृत्ति हावी हुने बताएका छन्। प्रजातान्त्रिक समाजवाद नहुँदा तानाशाहहरू जन्मिने उनको भनाइ छ। 

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यकता भएको औंल्याए।

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानाशाहीवाद हुन्छ। प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो। त्यस कारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’ उनले भने। 

उनले बीपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरे।

'बीपी कोइराला सानो देशको ठूलो नेता हो। उहाँलाई ज्ञान नभएको विषय नै थिएन। बीपी कोइराला अलराउण्डर हो। साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो, उनले भने। 

बीपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् भन्दै उनले थपे, 'कतिपय कुराहरू समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बीपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घिउ उपलब्ध गराउन सकिन्छ।'

सभापति देउवाले बीपी जस्तो नेता अहिलेसम्म अरू पार्टीमा नजन्मिएको बताए।  

भदौ २५, २०८१ मंगलबार १९:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।