उपसभापति धनराज गुरुङमाथि 'सहकारी ठगी'को आरोप लागेपछि के भन्छन् गगन?

उपसभापति धनराज गुरुङमाथि 'सहकारी ठगी'को आरोप लागेपछि के भन्छन् गगन?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि अब अनुसन्धानमा ढिलाइ गर्न नहुने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले गुरुङ आफैंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

कुनै पनि प्रकरणमा कानूनको उल्लंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको उनको भनाई छ। 

कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै महामन्त्री थापाले गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताए।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएका हुन्। 

अध्यक्ष गुरुङले भदौ ६ मा समितिमा उपस्थित भएर धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए।  

भदौ २४, २०८१ मंगलबार १८:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।