'जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग गिरीजाप्रसादको सरकारले निजीकरण गरेको ठिक थियो'

'जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग गिरीजाप्रसादको सरकारले निजीकरण गरेको ठिक थियो'

काठमाडौं : नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन्। 

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा बीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न खोजियो भने ठिक ठाउँमा पुग्न नसकिने बताए। 

उनले भने, 'बीपीको फन्डामेन्टल, आधारभूत कुरालाई छोडेर कुनै बेला उहाँले भन्नुभएको कुरालाई लिएर हामीले आजको अर्थतन्त्र, समाज र समयको चुनौतीको समाधान गर्न खोज्यौं भने ठिक ठाउँमा पुग्दैनौं। बीपी कोइरालाको आधारभूत स्वतन्त्र समानताको कुरा सबैले बराबर अवसर पाउने कुराको सन्दर्भमा उहाँको विचार अबको एकसय वर्षसम्म पनि सहि हुनेछ।' 

उनले जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योगलाई गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने भनेर गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दै गर्दा ठिक थियो कि थिएन भन्ने प्रश्न आज पनि उठ्ने गरेको बताए।  

उनले भने, ‘जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योग ४८ सालको गिरीजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दैगर्दा ठिक थियो कि थिएन भनेर समीक्षा गर्नुपर्छ। हामी अहिले पनि नेपाली कांग्रेसको नेता कार्यकर्ताहरू कन्फ्युज भयौं भने अरुणलाई पनि कन्फ्यूजमा पार्छौं। त्यो सतप्रतिशत नै सहि थियो।’

महामन्त्री थापाले अबको कांग्रेसको ठूलो सफलता भनेको कत्तिको युवाहरूलाई देशमा रोजगारी दिन सक्यो भन्ने नै रहने बताए।  

भदौ २४, २०८१ मंगलबार १८:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।