कोशी : केदार कार्कीले मुख्यमन्त्री हिक्मतलाई ९ वटा माग राख्दै अनशन बस्न आँटेको स्थानलाई 'निषेधित क्षेत्र' तोकियो

कोशी : केदार कार्कीले मुख्यमन्त्री हिक्मतलाई ९ वटा माग राख्दै अनशन बस्न आँटेको स्थानलाई 'निषेधित क्षेत्र' तोकियो

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।

दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

मुख्यमन्त्री हिक्मत कार्कीले आफ्ना माग सम्बोधन नगरेको भन्दै केदार कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए।

प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केदार कार्कीले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन्। 

भदौ २४, २०८१ मंगलबार १५:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।