संसद्मा धनराज गुरुङले भने 'संसदीय छानबिनका लागि तयार छु, अनुसन्धान गर्नुहोस्'

संसद्मा धनराज गुरुङले भने 'संसदीय छानबिनका लागि तयार छु, अनुसन्धान गर्नुहोस्'

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन्।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय छानबिनका लागि तयार बताए। 

उनले भने, ‘विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु। म निर्दोष छु, जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ।’ 

उनले आफूलाई भूतपूर्व श्रीमती ज्योति गुरुङसँग जोड्नु स्वाभाविक नभएको उनले बताएका छन्। 

नेल्सन मन्डेलाको सन्दर्भ जोड्दै उनले भने, ‘सम्बन्धविच्छेद भइसकेपछि नैतिक, कानूनी र व्यावहारिक रूपमा पनि जोड्न मिल्दैन। नेल्सन मन्डेला र उनकी श्रीमती बिनी मन्डेलाका बीचमा पनि सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेद भएपछि पनि बिनीका केही मुद्दाहरू आए। तर, नेल्सन मन्डेलालाई त्यसबारे प्रश्न गरिएन बरु यो भनियो कि वैवाहिक सम्बन्ध कायम छँदा पनि एउटाको अपराध अर्कोलाई बोकाउनु नैतिक कानूनले मान्दैन, सम्बन्धविच्छेद भएपछि त झन् मिल्दै-मिल्दैन।’

उनले सहकारीको रकम हिनामिनाबारे आफूविरुद्ध प्रश्न उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई ज्योति गुरुङसँग भएको २०७६ फागुन २९ को सम्बन्धविच्छेद नक्कली भएको प्रमाणित गर्न चुनौतीसमेत दिए।

‘सम्बन्धविच्छेद भएपनि १० वर्षे बालक हुर्काउनुको पीडा म आफैंसँग छ। सम्बन्धविच्छेद भएपछि भूतपूर्व श्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उनले भने।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएका हुन्। 

अध्यक्ष गुरुङले भदौ ६ मा समितिमा उपस्थित भएर धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको र त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए। 

भदौ २४, २०८१ मंगलबार १५:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।