अब राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क हुने
काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो।
काठमाडौंमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो।
सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ। सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ।
त्यस अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने बताए।
खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने बताए।
कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो।
भदौ २४, २०८१ मंगलबार १४:३९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।