आत्महत्या रोकथाम दिवसमा बुटवलमा सचेतनामुलक र्‍याली

आत्महत्या रोकथाम दिवसमा बुटवलमा सचेतनामुलक र्‍याली

काठमाडौं : ‘आत्महत्या रोकथामबारे संवाद सुरू गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित मंगलबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ।

दिवसको अवसरमा रुपन्देहीको बुटवलमा विभिन्न रोटरी क्लब तथा इलाका प्रहरी कार्यालय बुटवलको सहभागितामा सचेतनामुलक र्याली निकालिएको छ।

बुटवलको राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म निकालिएको र्यालीका सहभागीहरूले हात-हातमा आत्महत्या रोकथामका विभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

र्याली समापनको अवसरमा बोल्दै ई क्लब मेडिको फ्युजनका अध्यक्ष मानसिक रोग विशेषज्ञ डा विक्रम काफ्लेले आत्महत्या गर्नेहरुको संख्या हरेक वर्ष थपिदै गएकोले रोकथामका लागि ढिलो गर्न नहुने बताए।

उनले आत्महत्या गर्नेलाई घृणाको दृष्टिले हेर्ने नभई आत्महत्याको सोच आउनु पनि एउटा रोग हो भनेर समयमा सम्वाद गर्न सके व्यक्तिलाई आत्महत्या गर्नबाट जोगाउन सकिने बताए।

हरेक वर्ष ७ लाख भन्दा बढी मानिसले आत्महत्या गर्न थालेपछि त्यसको रोकथाम गर्ने भन्दै विश्व स्वास्थ्य संगठनले २००३ यो दिवस मनाउन थालेको हो। डा. काफ्लेका अनुसार नेपालमा हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

जुन हरेक वर्ष बढिरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ मा चार हजार तीन सय ५० जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा बढेर सात हजार २ सय २३ पुगेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले मानसिक स्वास्थ्य समस्या नै आत्महत्याको कारण बन्दै गएको उल्लेख गर्दै तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताए।

आत्महत्या हिंशा र व्यक्तिको मानसिक अवस्थासँग जोडिएको भनिए पनि आत्महत्याका पछाडि आर्थिक र सामाजिक कारणहरू पनि हुने गर्छन्। बढ्दो बेरोजगारी, वैदेशिक रोजगार, प्रेम तथा अध्ययनमा असफता लगायतका कारण पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ।

यसै वर्ष नेपाल प्रहरीले गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार आत्महत्या गर्नेहरूमा महिला भन्दा पुरुषहरूको संख्या बढी देखिएकोले यो मानसिक अवस्थासंगै सामाजिक र आर्थिक अवस्थासँग पनि जोडिएको छ भन्ने पुष्टि गर्छ।

विश्वमा प्रत्येक एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्छन् भने नेपालमा यो दर प्रति एक लाखमा २४ जना हाराहारी रहेको छ। नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यमा आत्महत्याको दरलाई घटाएर सन् २०३० सम्ममा प्रति एकलाख जनसंख्यामा ४ दशमलव ७ मा ल्याउने भनिएको छ।

भदौ २४, २०८१ मंगलबार १४:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।