उपसभामुखलाई महाभियोग लगाउने चर्चापछि रास्वपाको प्रतिवाद, ‘लोकतन्त्र मार्न पनि सल्लाह भएछ’

उपसभामुखलाई महाभियोग लगाउने चर्चापछि रास्वपाको प्रतिवाद, ‘लोकतन्त्र मार्न पनि सल्लाह भएछ’

काठमाडौं : उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको प्रतिवाद गरेको छ।

सोमबार र मंगलबार भएको सत्ताधारी दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुखलाई महाभियोग लगाउने प्रस्ताव लिएर गएको र त्यसबारे छलफल भएको थियो।

मंगलबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद् सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउन दुई दलबीच भएको सहमतिले राज्यले नै लोकतन्त्रमाथि कसरी आक्रमण गरिरहेको छ भन्ने पुष्टि भएको बताएका हुन्।

उनले भने, ‘राज्यले लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाअभियोग लगाउन राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने विषय कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुनेछैन।’

संवैधानिक परिषद्मा बहुमत पुग्दैन भनेर आफूलाई लोकतन्त्रको मसिहा भन्ने राजनीतिक दलहरुले नै उससभामुखलाई हटाउनु कसरी लोकतन्त्र भयो भन्दै उनले प्रश्न समेत गरेका छन्।

उनले थपे, ‘नेपाली लोकतन्त्र यति कमजोर हो? लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो? राजनीतिक पाटीहरु कुन संस्थालाई कसरी निकम्मा बनाउने?, कुन राजनीतिक पार्टीसँग कसरी द्वेष साँध्ने भनेर सल्लाह गर्ने हो?’

उनले राजनीतिक दलहरुलाई लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै यो कदम भोलि आफ्नै लागि प्रत्युत्पादक हुनसक्ने चेतावनी दिए।

उनले अगाडि भने, ‘लोकतन्त्रमाथि धावा नबोल्नुस्, आज सहज होला भोलि अप्ठ्यारोमा तपाईंलाई नै पार्न सक्छ। पछिल्लो पुस्ताको उन्नत राजनीतिक चेतनाको राजनीति गर्ने रास्वपाले निरन्तर लोकतन्त्रका लागि ढाल भएर काम गर्नेछ, राजनीति गर्नेछ।’

उनले लोकतन्त्रलाई सल्लाह गरेर मारिन लागेको भन्दै जनतालाई सडकमा आउन समेत आह्वान गरेका छन्।

उनले थपे, ‘लोकतन्त्रलाई सल्लाह गरेर मारिन्छ भने तमामा नेपाली जनताहरु लोकतन्त्रका लागि सडकमा उत्रिनेछन् र राजनीतिक दलका विरुद्ध आन्दोलन गर्नेछन्,’ उनले थपे, ‘हाम्रो पुस्ताको चेतनामाथि प्रतिबन्ध लगाउने, लोकतन्त्र मार्ने र जनताको संवैधानिक अधिकार हनन गर्ने अवस्था भयो भने तपाईंहरु आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ। लेखेर राख्नुस्।’

संख्या र सत्ता शक्तिको नाममा मात्र राज्य चल्छ र जे पनि गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन समेत उनले सत्ताधारी दललाई आग्रह गरेका छन्।

भदौ २४, २०८१ मंगलबार १३:४८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।