सहकारी ठगीमा आरोपित गुरुङ दाबी- ‘मविरुद्ध भ्रम फैलाइयो, ज्योति जीसँग डिभोर्स भइसक्यो’

सहकारी ठगीमा आरोपित गुरुङ दाबी- ‘मविरुद्ध भ्रम फैलाइयो, ज्योति जीसँग डिभोर्स भइसक्यो’

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको आरोप लागेपछि त्यसको बचाउमा उत्रिएका छन्।

पूर्वकानूनमन्त्री समेत रहेका गुरुङविरुद्ध ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी गरेका छन्।

धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै कुम्भराजले प्रहरी र एमाले सांसद सूर्यबहादुर थापाको अध्यक्षतामा गठित संसदीय समितिमा पनि उजुरी हालेका छन्।

तर, पूर्वकानून मन्त्री गुरूङले भने सोमबार एक विज्ञप्ति निकालेर आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरेका छन्। कुम्भराजकै कारण आफ्नो डिभोर्स भएको समेत उनको दाबी छ। उनले पूर्वश्रीमती ज्योतिले मितेरी बचत तथा ऋण सहकारीको प्रबन्धकको रूपमा काम गरेको स्वीकार गरेका छन्।

‘तत्कालीन मेरी श्रीमती ज्योती गुरुङ ललितपुरको महालक्ष्मीस्थानको मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकको रूपमा कार्यरत थिइन्,’ उनले भनेका छन्, ‘जहाँसम्म मैले सहकारीको रकम अपचलन वा ठगी गरेको भन्ने बारेमा जे जस्ता भ्रामक समाचारहरू प्रेसित भएका छन् त्यसप्रति मो गम्भीर आपत्ति छ।’

धनराजले श्रीमती ज्योतिसँग डिभोर्स भइसकेको समेत जानकारी गराएका छन्।

‘निज ज्योति जीसँग २०७६ साल फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकोले, ज्योती जीसँग उक्त मितिदेखि कुनै पनि किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँदछु’, उनले लेखे।

भदौ २४, २०८१ मंगलबार ११:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।