क्षयरोगको भय : नियमित औषधि नखाँदा बढे जटिल बिरामी, तेस्रो चरणमा मृत्युसम्मको जोखिम

क्षयरोगको भय : नियमित औषधि नखाँदा बढे जटिल बिरामी, तेस्रो चरणमा मृत्युसम्मको जोखिम

बुटवल : दुई-तीन हप्तासम्म लगातार खोकी लागिरहेको छ? के खकारमा रगत पनि देखिएको छ?

त्यस्ता लक्षणहरू देखिएका छन् भने ख्याल गर्नुस्, तपाईलाई क्षयरोग (टिबीरोग) पनि भएको हुनसक्छ। लक्षणहरू पनि देखिएर समयमा स्वाथ्य जाँच गराउनु भएन भने क्षयरोगले तपाईंको ज्यान समेत लिन सक्छ।

सामान्य क्षयरोगसँगै पछिल्लो समयमा देखिएको जटिल क्षयरोग (डिआर/एमडिआर)को संक्रमणले अझै जटिल बनाउँछ। सामान्य क्षयरोग लागेर लापरबाही गर्नेहरूलाई जटिल प्रकारको क्षयरोगको संक्रमण हुने चिकित्सकहरू बताउँछन्।

पछिल्लो समय सामान्य क्षयरोग लागे पनि बिरामीले नियमित औषधि सेवन नगर्दा जटिल बन्दै गएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा क्षयरोगका बिरामी बढ्दै गएका छन्।

आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा एक हजार ७०५ क्षयरोगका विरामीको पत्ता लागेकोमा आर्थिक वर्ष ०७९/०८० मा एक हजार ७४५ जना फेला परेका थिए। त्यसैगरी अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा दुई हजार १२ जना क्षयरोगका विरामी पत्ता लागेका छन्।

जिल्लाका १६ स्थानीय तहमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा पत्ता लागेको तथ्याङ्कमा देखिन्छ। अघिल्लो वर्ष पत्ता लागेका दुई हजार १२ मध्ये बुटवलका मात्र ४४३ जना छन्।

स्वास्थ्य कार्यालय भैरहवाका सूचना अधिकारी भेषराज शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम क्षयरोगका विरामी सियारी र समरिमाई गाउँपालिकामा छन्। यी दुवै स्थानीय तहमा ४९/४९ जनामा मात्र क्षयरोग लागेको छ।

यता क्षयरोगको पत्ता लाग्ने दर बढ्दै जाँदा उपचारमा सफलता दर पनि बढ्दै गएको छ। तीन वटै आर्थिक वर्षको तथ्यांक हेर्दा उपचारमा सफलता दर ९० प्रतिशत भन्दा माथि छ। आर्थिक वर्ष ०७८/०७९ मा ९१ दशमलव २, आर्थिक वर्ष ०७९/०८० मा ९२ प्रतिशत र अघिल्लो आर्थिक वर्ष ०८०/०८१ म ९३ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

क्षयरोगका कारण मृत्यु हुने दर अघिल्लो वर्ष ३ दशमलव १ प्रतिशत रहेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका क्षयरोग उपचार केन्द्रका इन्चार्ज विरोध पाण्डे क्षयरोग अझै पनि समाजमा लुकेर रहेको बताउँछन्। केन्द्रबाट मात्र अघिल्लो आर्थिक वर्ष मात्र ९७ जना डिआरका विरामीहरूले उपचार गरेका थिए।

‘डिआर लागेकाहरूलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिन्छ। यो अझै बढाउन जरुरी छ। उनीहरूसँग सम्पर्कमा आउने व्यक्तिहरूलाई खोजबिन गर्ने हो भने अझै पत्ता लाग्छ’, उनले भने।

डिआर टिबीको उपचारमा पनि लापरबाही गरे एक्सडिआर टिबी हुने गरेको छ। यो अति जटिल प्रकारको टिबी हो। यो लागेपछि क्षयरोग सम्बन्धी धेरै जसो औषधिले काम नै गर्दैनन्। उपचार केन्द्रका इन्चार्ज पाण्डेका अनुसार एक्सडिआर टिबी लागेका दुई जना बिरामीले उपचार गराइरहेका छन्।

डिआर टिबी लागेको व्यक्तिहरूको सम्पर्कबाट डिआर टिबी नै नयाँ व्यक्तिमा संक्रमण हुने चिकित्सकहरूको भनाइ छ। क्षयरोग हावाको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ।

बुटवल उपमहानगरभित्र हरेक वर्ष एक सयको हाराहारीमा क्षयरोगका बिरामी थपिने गरेको तथ्यांक रहेको छ। स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष मात्र बुटवलमा ४४३ जना पत्ता लागेका छन्। यहँँ मृत्युदर ३ दशमलव १ प्रतिशत छ।

निःशुल्क उपचारको व्यवस्था भए पनि कतिपय बिरामीहरूले लापरबाही गर्ने गरेको उनको भनाइ छ।

नियमित औषधि खाने हो भने सामान्य प्रकारको क्षयरोग (टिबी) छदेखि नौ महिनामा निको हुन्छ। डिआर टिबीलाई निको हुन नौदेखि २४ महिना लाग्छ भने एक्सडीआर टिबी निको हुन १८ देखि ३० महिना लाग्ने चिकित्सकहरू बताउँछन्।

कडा खालको एमडिआर क्षयरोग लागेका बिरामीहरूलाई सरकारले होस्टेलको व्यवस्था समेत गर्दै आएको छ। क्षयरोग उपचार केन्द्र बुटवलमा ८ जना डिआर लागेकाहरू बस्दै आएका छन्।

‘हाम्रो क्षमता नै आठ बेडको हो। यसलाई विस्तार गर्न जरुरी छ। त्यति मात्र होइन, यो क्षयरोगको उपचारका लागि अझ छुट्टै किसिमको अस्पताल बनाउने हो भने उपचार प्रभावकारी हुन्छ’, शर्माले भने।

बुटवल जस्तो हटस्पट क्षेत्रमा कम्तीमा पनि एक सय शय्याको होस्टल हुनुपर्ने उनको भनाइ छ।

सरकारले होस्टलमा बस्नेलाई मासिक १ हजार खर्च दिने गरेको छ भने घरबाटै आउजाउ गर्नेलाई मासिक तीन हजार यातायात तथा पोषण खर्च भनेर दिने गरेको छ।

सामान्य क्षयरोगको उपचार तथा औषधि स्वाथ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरूमा पनि उपलब्ध हुने गरेको छ भने जटिल प्रकारको क्षयरोग (डिआर)को जिल्ला अस्पतालहरूमा उपचार हुन्छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको जीन एक्सपर्ट मेसिन र एक्सडिआर मेसिनले उपचारमा सहयोग पु¥याएको उपचार केन्द्रका इन्चार्ज पाण्डेले बताए। सो मेसिनले कुन बिरामीलाई कुन औषधिले काम गर्छ भन्ने कुराको निक्र्यौल गर्दछ।

रुपन्देहीमा क्षयरोग उपचार गर्ने माइक्रोस्कोपिक सेन्टर २५ वटा रहेका छन् भने उपचार केन्द्रहरू ११० वटा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कसरी लाग्छ क्षयरोग ?
माइक्ररोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणुबाट क्षयरोग लाग्दछ। एड्स भएका, मद्यपान तथा धूमपान बढी गर्ने व्यक्तिहरू, कुपोषित बच्चाहरूमा र वातावरणीय सरसफाइको अभाव हुनेहरू यसको जोखिममा हुने हुने गर्दछन्।

रोगीले हाच्छ्यू गर्दा हावाको माध्यमबाट फोक्सोमा किटाणु प्रवेश गरेको चारदेखि छ हप्तामा रोग देखा पर्छ।

दुई हप्ताभन्दा लामो समयसम्म खोकी लागिरहनु, अत्याधिक खकार, त्यसमा पनि रगत देखिनु, तौल घट्नु, छाती दुख्नु, श्वास फेर्न गाह्रो हुनु, ज्वरो आउनु, राति पसिना धेरै आउनु, थकान महसूस हुनु, अरुचि हुनु आदि यसका लक्षणहरू हुन्।

यस्ता लक्षण देखिने बित्तिकै गराउने हो भने क्षयरोगबाट बच्न र फैलनबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्।

भदौ २५, २०८१ मंगलबार ११:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।