गंगालाल अस्पतालले सात सय ५७  राष्ट्रिय खेलाडीको नि:शुल्क मुटु परीक्षण गर्ने

गंगालाल अस्पतालले सात सय ५७  राष्ट्रिय खेलाडीको नि:शुल्क मुटु परीक्षण गर्ने

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले नेपाललाई प्रतिनिधित्व गर्ने सात सय ५७ राष्ट्रिय खेलाडीको निःशुल्क मुटु परीक्षण गर्ने भएको छ।

आज भएको सम्झौतामा सबै राष्ट्रिय खेलाडीहरूको मुटुको निःशुल्क मुटु परीक्षण सम्बन्धी व्यवस्था छ। जसको सुरुवात पारालम्पिक्समा कास्य पदक जितेकी खेलाडी पलेशा गोवर्धनबाट गरिएको छ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ।

हाल केन्द्रकै तर्फबाट नि:शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ। सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ।

यसबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७  खेलाडी लाभान्वित हुने मन्त्री पौडेलले बताए।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै खेलाडीहरूको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूवात भएको बताए।

भदौ २५, २०८१ मंगलबार १०:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।