सुर्खेतमा चोक-चोकमा जुम्लाका हरिया स्याउ, एक सयमा बेच्न पनि मुस्किल
सुर्खेत : खासगरी कर्णाली भेगको जुम्ला, मुगु, कालिकोटमा स्याउ पाक्ने सिजन असोजमा हो। तर, साउन अन्तिमबाटै सुर्खेतका चोक-चोकमा काँचो स्याउहरू पाइन थालेका छन्।
जुम्लाबाट गाडीमा ढुवानी गरेर सुर्खेत, कोहलपुर, नेपालगञ्ज र काठमाडौंसम्म पुग्ने स्याउ सुर्खेत बजारमा प्रतिकिलो एक सय रुपैयाँमा समेत बिक्री गर्न किसानलाई गाह्रो छ।
‘बारीमा ७० रुपैयाँ किलो बिक्री हुन्छ। यहाँसम्म ल्याउन किलोको १० रुपैयाँ भाडा लाग्छ। एक सय रुपैयाँमा बेच्न पनि समस्या छ,’ जुम्लाका कृषक कृष्णकुमार चौलागाईंले भने, ‘किसानलाई पैसाको आवश्यकता र व्यापारीले अत्याउँदा स्याउ छिटो टिप्ने गरेका छौँ।’
त्यस्तै जुम्लाकै अर्का कृषक धनबहादुर रावतले यो वर्ष मौसम फेरबदलका कारण स्याउ फस्टाउन नसक्दा घाटा भएको बताए।
‘मौसम परिवर्तनका कारण विभिन्न रोगहरूले सताउने गरेको छ। यो वर्ष पनि उत्पादनमा समस्या भएको छ,’ उनले भने, ‘विगतमा दुई सय क्विन्टल हुने स्याउ अहिले सय मात्रै भयो। उत्पादमा आधा नै फरक भयो।’
स्याउ व्यापारी तथा कृषि बजार सुर्खेतका निवर्तमान अध्यक्ष प्रबल शाहीले जुम्लाको अर्गानिक स्याउको अस्तित्व हराउन थालेको बताए।
‘५० पेटीमा ५० थरीका स्याउ भेटिन थालेका छन्। स्याउ राम्रो नहुँदा ग्रेडिङ्ग गर्न पनि समस्या छ,’अध्यक्ष शाहीले भने, ‘जुम्लाको स्याउमाथि नै प्रश्न उठ्न थालेको छ। अस्तित्व नै संकटमा छ।’
कर्णालीको पहिचान बनाएको जुम्ली स्याउ कृषकलाई उत्पादन सम्बन्धी उचित तालिममा सरोकारवालाको ध्यान नजानु, समय नपुग्दै स्याउ टिप्नु र ग्रेडिङ नगर्नाले जुम्ली स्याउको अस्तित्व घट्दै गएको उनको भनाइ छ।
जुम्लामा रोयल, रेड, गोल्डेन डेलिसियस, फुज्जी जात लगायतका स्याउ उत्पादन हुने गर्छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ।
झन्डै १९ हजार घरधुरीमा स्याउ बगैँचा छ। यो वर्ष जुम्लामा १५ हजार टन स्याउ उत्पादन हुने अनुमान छ। उत्पादनको आधा मात्र बाहिरी जिल्लामा पठाउन सकिए पनि झन्डै ४० करोड रुपैयाँ जिल्ला भित्रिने अनुमान कृषि विकास कार्यालयको छ।
भदौ २४, २०८१ मंगलबार ०९:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।