फ्रान्सको पहिलो जित निकाल्दा इटाली ६ अंकसहित शीर्ष स्थानमा
काठमाडौं : युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो। बेल्जियमको भने यो पहिलो हार हो। बेल्जिमयले पहिलो खेलमा इजरायलाई पराजित गरेको थियो।
सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक-एक गोल गरेका थिए।
घरेलु मैदानमा फ्रान्सका लागि खेलको २९ औं मिनेटमा रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्यो।
डेम्बेले ५७औं मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल नभएपछि अन्ततः फ्रान्स २-० को जित निकाल्न सफल भयो।
जितसँगै फ्रान्सले पहिलो ३ अंक जोडेको हो। बेल्जिमय भने हारका बाबजुद पनि ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
यस्तै गएराति नै भएको इटालीले इजरायलललाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो।
इटालीको जितमा डेभिड फ्राटेसी र मोइस केनले एक-एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले सान्त्वना गोल फर्काए।
पाहुना टोली इटालीले ३८औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।
६२औं मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो। ९०औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २-१ को नतिजा निकाल्न सफल भयो।
यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ। खाता खोल्न नसकेको इजरायल भने पुच्छारमा छ।
भदौ २५, २०८१ मंगलबार ०८:१८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।