क्यानडा सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा, अर्जुन र सन्दीप एक वर्षपछि टोलीमा
काठमाडौं : क्यानडामा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा लेग स्पिनर सन्दीप लामिछाने १२ महिनापछि र अर्जुन साउदले १४ महिनापछि पुनरागमन गरेका छन्।
लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन्। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ।
तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको दुई दिनपछि तीनै टोलीबीच टी-२०आई सिरिज हुने बताएको थियो। सिरिज असोज १७ गते सम्म हुनेछ।
भदौ २५, २०८१ मंगलबार ०७:२१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।