एक दिन अर्लाम नबज्दा कामबाट निकालिएपछि कतारबाट फर्किएका छबिलाल, नेपालमा नभएर फेरि विदेश जान खोज्दैछन्

एक दिन अर्लाम नबज्दा कामबाट निकालिएपछि कतारबाट फर्किएका छबिलाल, नेपालमा नभएर फेरि विदेश जान खोज्दैछन्

न्युरोडको व्यस्त सडक पेटीमा बसिरहेका थिए छबिलाल परियार। उमेरले ३० टेकेका उनी, डेढ वर्षदेखि भारी बोक्ने काम गरिरहेका छन्।

नसा खुम्चेर धेरै बारी बोक्न नसक्ने उनी १२ वर्षकै उमेरमा काठमाडौं आए। सुरूका दिनमा न्युरोड क्षेत्रकै होटेलमा भाडा माझेका उनलाई परिस्थितिले भारतदेखि कतारसम्म पुर्यायो।

‘धेरै ठूलो भारी बोक्न सक्दिनँ, नसा सम्बन्धी रोग छ। अझ एक हप्ताअघि मात्रै ढाड सड्केर केही गर्न भएको छैन। तर, पनि काम गर्नुपर्यो, परिवार पाल्नैपर्यो, महँगी छ। अझै चाडबाड पनि नजिकिरहेको छ’, उनले आफ्नो दु:खेसो पोखे।

२०५१ सालमा सिन्धुलीमा जन्मिएका छबिलालले पढाइ राम्रो हुँदा-हुँदै पनि घरको आर्थिक अवस्थाले दुई कक्षाभन्दा बढी पढ्नै पाएनन्।

‘मेरो पढाइ राम्रो थियो। अहिले पनि छोरीलाई काम सकेपछि कोठामा गएर पढाउने गर्छु। के गर्नु पढाइ नै रहेछ सबै थोक। मैले त पढ्न पाइन, छोराछोरीलाई उनीहरूले जति भन्छन् त्यति पढाउने विचार छ’, उनले सुनाए।

...अनि भागेर काठमाडौं आएँ
छबिलाल २०६३ मा उमेर घरको आर्थिक अवस्था कमजोर भएपछि काठमाडौं छिरे। विहान-बेलुकाको छाक टार्नै समस्या भएपछि कलिलै उमेरमा पढ्न भन्दा काम गरेर घरको अवस्था सुधार्न मन लाग्यो उनलाई। बुवासँग काठमाडौं जाने अनुमति मागे तर पाएनन् अनि भागे।

‘काठमाडौं पनि भागेर आएको, बुवाले नजा भन्नुभएको थियो। बिहान खाए, बेलुका के खाने भन्ने अवस्था थियो। कोही बेला खाने सामान नभएर पनि मकै भुटेर खानुपर्थ्यो। कुनै बेलामा नुन र पानी मात्रै खाएर सुत्नुपर्यो। पहिला घर छाकलले छाएको थियो। पानी पर्दा सबै घरभित्र आउँथ्यो। आमाले हामीलाई अँगालोमा हालेर राख्नुहुन्थ्यो,’ उनी भावुक देखिए। 

काठमाडौं आएपछि होटलमा छबिलालले १ हजार रूपैयाँ ज्यालामा भाडा माझ्न काम पाए, न्युरोडमै। चार महिना भाडा माझेपछि दशैं आयो, त्यसपछि उनी घर गए। 

‘घर गएपछि आमाले काठमाडौं नजा पढ्, भन्नुभएको थियो। मैले अब म नपढ्ने काठमाडौंतिरै बस्छु भनेर फेरि यतै आएँ’, उनले भने।  

दशैं, तिहार मनाएर काठमाडौं फर्केपछि छबिलालले पुरानो होटलमा भाडा माझ्ने काम छोडिदिए। अनि चिया पसलमा काम गर्न थाले। यतिबेला उनको कमाइ पनि बढेर तीन हजार पुगेको थियो। चिया पसलेकैमा बस्ने खाने व्यवस्थासमेत थियो।

‘चार वर्षजति चिया पसलमा काम गरेपछि त्यहाँ छोडेर इन्डिया गएँ’, उनले भने। 

छबिलाल गाउँलेको पछि लागेको गएका थिए। रड फ्याक्ट्रीको काम भनेर गएका थिए तर, त्यो नमिलेपछि फ्याक्ट्रीको साहुकोमा घरायसी काम गरेर एक वर्ष बिताए। उनी इन्डियाबाट नेपाल एक वर्षमै आउने योजनामा थिएनन्। तर, उनको बुवालाई टिबी रोगले च्यापेपछि भने उनी नेपाल आउन बाध्य भए, त्यसपछि इन्डिया फर्केनन्। 

‘साहुको घरमा घरायसी काम गर्नुपर्ने रहेछ। महिनाको आइसी तीन हजार थियो तलब। काम चाहिँ घरको काममा भाडा माझ्ने, कपडा धुने, घर पुच्छ्ने, खाना बनाउने त्यस्तै काम गर्नुपर्थ्यो। एक वर्ष काम गरेपछि बुवालाई टिबी रोग लागेछ, अनि उताबाट म आएँ। त्यसपछि जानै मन लागेन,’ उनले सम्झिए। 

इन्डियाबाट आएपछि एक महिना घरमै बसेका उनी बुवालाई अलि निको भएपछि फेरि काठमाडौं हानिए। होटेलमा भाडा माझ्ने काम थालेमा उनले केही महिनापछि अर्को होटलमा वेटरको काम पाए। त्यसबेला उनको तलब थियो पाँच हजार, छोड्ने बेलासम्म बढेर १८ हजार बनेको उनले सुनाए।

‘म सुन्धारामा बसेँ, त्यहाँ चाहिँ वेटर गरेको। सुन्धाराको होटलसम्म आउँदा सुरुमा पाँच हजार तलब थियो। यो २०६९ सालको कुरा हो। निस्कने बेलामा १८ हजार थियो’, उनले सुनाए।

१८ हजारको तलब भएपछि उनले विवाहको योजना बनाए। त्यसैअनुरुप विवाह गरे पनि। त्यसपछि केही समय गाउँमै बसेका उनका बारेमा गाउँलेले कुरा काट्न थालेपछि फेरि शहर फिरे।श्रीमतीसँगको सल्लाहमै  पासपोर्ट बनाए पनि।

‘भर्खर विवाह गरेकोले मलाई काठमाडौं आउन मन लागेन। अनि घरमै बसेको थिए। पछि गाउँमा कुरा काट्न थालेपछि मलाई नराम्रो लाग्यो। पछि श्रीमतीलाई भनेर पासपोर्ट बनाएँ। अप्लाई र भिजा आएको कुरा चाहिँ श्रीमतीलाई थाहा थिएन’, उनले सम्झिए।

‘विदेश जाँदा पनि धोकै पाएँ’ 
२०७४ सालमा छबिलाल कमाउनको लागि भनेर कतार उडे। उनी कतार जाँदा उनको छोरी जम्मा ११ महिनाको थिइन्।

नेपालको मेनपावर कम्पनीले होटल लाइनमा महिनाको एक हजार रियाल आउँछ भनेर छबिलाललाई पठाएछन्। तर, कतार पुगेपछि भने उनको काम रहेछ कन्स्ट्रक्सनमा।

‘धोकै पाएँ नि! यहाँबाट होटल लाइन भनेर गएको कन्स्ट्रक्सनमा परेँ। २०७४ सालमा गएको। एक हजार भनेको थियो यहाँ म्यानपावरले, उता गएपछि ७ सय रूपैँया (रियाल) मात्रै पाए’, उनले सुनाए।

पैसा कमी भए पनि छबिलालले परिवार धानिरहेकै थिए। घरमा पैसा पठाइरहेकै थिए। तर, एकदिन फोनको अर्लाम नबज्दा भने उनी कामबाटै निकालिए।

‘काममा जानुपर्ने ५ बजे थियो। त्यो दिन अर्लाम नै बजेन। अनि ५ बजे उठेछु। अनि त गाडी छुटिहाल्यो, गाडी छुटेपछि फेरि सुतिदिएँ। उठेपछि साथीले घुम्न जाऊँ भन्यो, गएँ। त्यसपछि अफिसको मान्छेले फोन गर्यो अनि उसलाई आज मोबाइलमा अर्लाम बजेन त्यही भएर अफिस छुट्यो भनेँ’, उनी सम्झिन्छन्।

काममा जान नसकेपछि उनलाई म्यानेजरले फोन गरेर अफिसमा बोलाएर मोबाइल, एटिएम खोसे। त्यसपछि हो  छबिलाललाई कतार बस्न मन नलागेको।

‘म्यानेजरले मेरो एटिएम माग्यो, मैले दिइनँ। त्यसपछि मेरो मोबाइल खोस्यो, तीन घण्टा राखेपछि तँ अफिस नआइज भन्यो अनि घर फर्किने विचार गरेँ। विदेश गएको २२ महिना मात्रै भएको थियो। रिजाइन दिएको दुई महिनापछि अफिसले घर पठाइदियो’, उनी फेरि भावुक सुनिए।

२२ महिना कतारमा काम गर्दा उनले  पाँच लाख रुपैयाँ घर पठाएका थिए।

...अनि ज्यामी हुँदै भारी बोक्न आए
विदेशबाट आएपछि फुपूको कान्छी छोरीको वर्कसपमा काम गरे छबिलालले। त्यहाँ ३५ हजार रुपैयाँ चोरेको आरोप लागेपछि त्यहाँ पनि बस्न मन लागेनछ। पछि त्यो पैसा त्यही काम गर्ने अर्काे केटोले चोरेको पत्ता लागेपछि भने उनको बहिनी ज्वाइँले माफी मागेछन्।

‘जति नै गरिब भएपनि मेरो बुवा आमाले त्यस्तो संस्कार चाहिँ दिनु भएको थिएन। सानुमा पनि लामो हात गरेको बुवा आमाले था पाएमा कुट्नु हुन्थ्यो। त्यसैले पनि त्यस्तो चाहिँ गरिनँ, तर पनि मलाई त्यस्तो आरोप लागेको थियो। पछि बुझ्दै जाँदा त्यो ३५ हजार त्यही काम गर्ने केटाले निकालेको रहेछ। पछि बहिनी, ज्वाइँले नै माफी मागे’, उनले सुनाए।

त्यसपछि छबिलाललाई त्यही ज्वाइँले दानाको डिलरमा काम लगाइदिए। डिलरमा काम गर्दा सुरुमा १२ हजारबाट सुरू गरेको थिए। पछि छोड्दा २२ हजार भएपछि उनलाई फेरि विदेश जाने विचार आयो अनि म्यानपावर कम्पनीलाई पासपोर्ट जिम्मा दिए।

‘डिलरको काम छोडेपछि फेरि विदेश जान्छु भनेर बसेको थिएँ। तर, म्यानपावरले मेरो पासपोर्ट नै हराइदियो। अनि भारी बोक्ने काम गर्न आएको। यो काम गरेको डेढ वर्ष भयो’, उनले सुनाए।

यो पेशामा छबिलाललाई हेपाहा प्रवृत्तिको सामना गरेका छन्। उनलाई तिहारसम्म जति हेपे पनि भारी बोक्नै पर्ने बाध्यता रहेछ। त्यसपछि भने विदेश जाने योजना बनाएको उनले बताए।

‘एकदिन भारी बोकेर एउटा घरभित्र गइरहेको थिएँ। घरबेटीले धकेलेर झन्डै मुन्टो भाँचिएको। अब यो काम गर्दिनँ, तिहार पछि विदेश जान्छु। आफूले जति दु:ख पाए पनि छोरा-छोरीलाई सुख हुनेगरी कमाउनुछ। बरू म खाडीमै दु:ख गर्छु’, उनले सुनाए।

भदौ २३, २०८१ सोमबार २२:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।