कांग्रेसलाई बिग्रन दिँदैनौं, हामी सम्हाल्छौं : गगन थापा

कांग्रेसलाई बिग्रन दिँदैनौं, हामी सम्हाल्छौं : गगन थापा

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने दाबी गरेका छन्।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताए। 

'घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ, उनले भने। 

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने बताए। 

निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक भन्दै उनले भने 'अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ। गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ।'

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको समेत बताए। 

अब विगतमा जस्तो पार्टी माथि बिग्रँदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए। 

भदौ २३, २०८१ सोमबार १९:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।