पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिए, तोकिएको निर्वाचन अनिश्चित

पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिए, तोकिएको निर्वाचन अनिश्चित

काठमाडौं : दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। 

सोमबार आगामी असोज ५ मा हुने भनिएको निर्वाचन सर्वस्वीकार्यता हुनसक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिए। 

'यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झन्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागतरुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरूको बैठक चल्दैगर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन', उनको राजीनामा पत्रमा उल्लेख छ।  

उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताए। 

‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन। तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिकसमेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागुहुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ। 

सदस्यता विवादका कारण पत्रकार महासंघको निर्वाचन निर्धारित कार्यतालिकामा हुन नसकेको छैन भने पछिल्लो पटक असोज ५ का लागि तय भएको छ। सोही अनुसार संघ संगठनहरुले पनि चुनावी प्रक्रियामा लाग्न थालिसकेका थिए। तर, अचानक अध्यक्ष पोखरेलको राजीनामा आएपछि चुनाव अनिश्चित बनेको छ। 

पत्रकार महासंघको आइतबार केन्द्रीय समितिको बैठक थियो। बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरूले भनेका थिए। त्यसैकारण पनि अध्यक्षको राजीनामा आएको बताइएको छ।  

भदौ २३, २०८१ सोमबार १८:२०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।