कुहिएको मासुबाट बिरयानी बनाउने गरेको 'हैदराबादी मट्का बिरयानी'ले स्वीकार्यो, २२ हजार जरिवाना

कुहिएको मासुबाट बिरयानी बनाउने गरेको 'हैदराबादी मट्का बिरयानी'ले स्वीकार्यो, २२ हजार जरिवाना

बुटवल : ग्राहकलाई कुहिएको मासुबाट बिरयानी बनाएर बिक्री गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाकस्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ।

भदौ २० मा ग्राहकले बिरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदराबादी दम बिरयानीमा बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो। त्यसपछि उपमहानगरपालिकाले सोमबार हैदराबादी दम बिरयानीलाई २२ हजार जरिवाना गरेको हो।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सावित्रादेवी अर्यालले सञ्चालकले गल्ती स्वीकार गरिसकेकाले २२ हजार जरिवाना गराइएको बताइन्।

उपमहानगरपालिकाले पसललाई स्वच्छ नराख्दा सम्म र मापदण्ड पूरा नगर्दा सम्म सञ्चालनमा रोक्का लगाउनेसमेत निर्णय गरेको उपप्रमुख अर्यालले बताइन्। 

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलका अनुसार भदौ २० मा ग्राहकको गुनासोको आधारमा अनुगमन गर्ने क्रममा ५६ केजी मासु र कुखुराको छाला नष्ट गरिएको थियो।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ। तर, हैदराबादी दम बिरयानीले यी कानूनी मापदण्डको पालना नगरेको पाइएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए।  

भदौ २३, २०८१ सोमबार १६:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।